जनता टाइम्स

२० असार २०७६, शुक्रबार १०:२३

नेकपा प्रवेश गर्दै डा बाबुराम भट्टराईका हस्तीहरु : स्वागत गर्दै ओली-प्रचण्ड


काठमाडौं, असार २०

सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

उपेन्द्र यादवको फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्ट जनाउँदै आउनुभएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायत ५० भन्दा बढी प्रभावशाली नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गर्न लाग्नुभएको हो । माओवादी युद्धकालमा चर्चित धमला र पराजुली श्रीमान श्रीमती हुनुहुन्छ । उहाँहरुले बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट मुलुक अघि बढन नसक्ने र समृद्धिका लागि सत्तारुढ नेकपा नै एकमात्र बिकल्प रहेको भन्दै प्रवेश गर्न लाग्नुभएको हो ।

धमला डा बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । नेकपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी उहाँहरू पार्टी प्रवेश गर्न लाग्नुभएको हो । बिहीबार नै पार्टी प्रवेश गर्ने कार्यक्रम भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यस्थताका कारण कार्यक्रम स्थगित भएको थियो । फोरम नेपालसँग नयाँ शक्तिले एकीकरण गर्नु राम्रो हो तर नयाँ शक्ति पार्टी जुन अभियानका लागि गठन भएको थियो, त्यो बाटो छाडेका कारण आफूहरू सो दल छाडेर नेकपामा प्रवेश गर्न लागेको पराजुलीले जानकारी दिनुभयो ।