जनता टाइम्स

२० असार २०७६, शुक्रबार ११:१२

रितको शतकमा नेपालद्धारा सिंगापुरसामु ३२७ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, असार २०

रित गौतमको शतक तथा कुशल मल्लको विस्फोटक अर्धशतकको मद्धतमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई जितका लागि फराकिलो लक्ष्य प्रस्तुत गरेको हो ।

किनरारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । नेपाललाई उच्च स्कोर बनाउनमा गौतमले शतकीय इनिङ्स खेले । उनले १३७ बलमा १० चौका र एक छक्का प्रहार गर्दै अविजित ११५ रन बनाए । डेब्यु खेलाडी खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको विस्फोटक इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाए ।

कुशलले अन्तिम ओभरमा २२ रन हान्दै २३ बलमा ५१ रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।