जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार १४:०१

गम्भीर मोडमा सत्ता गठबन्धनको यात्रा


ईश्वरी बराल/ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कारण पाँचदलीय सत्ता गठबन्धनको भविष्यबारे बिहीबार टुंगो लाग्ने भएको छ । एमसीसीको विषयमा छलफल गर्न आज अपराह्न ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मन्त्रिपरिषद बैठकका कारण दुई घन्टा ढिलो बस्ने भएको हो ।

आज बस्ने गठबन्धनको बैठकलाई निर्णायक भनिएको छ । सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ । यसअघि बुधबार माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सदनमा टेबुल गरे सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । त्यसपछि सरकारले पुनर्विचारका लागि आज गठबन्धनको बैठकमा छलफल गर्न लागेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्विचार गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको थियो । माओवादी संसदीय दलको बैठकबाट यथास्थितिमा एमसीसी टेबुल भए सरकारबाट बाहिरिने चेतावनी दिएर प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । (न्यूज कारखाना)