जनता टाइम्स

२१ असार २०७६, शनिबार ०७:५२

एकतालाई समस्या पैदा गर्ने वा विग्रह गर्ने कुरा स्वीकार हुँदैन : प्रवक्ता श्रेष्ठ


काठमाडौं , असार २१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको राजनीतिक परिवर्तनबारे महाधिवेशनमा छलफल हुने बताउनुभएको छ । गोरखामा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता गर्दाको सहमतिका आधारमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन तयार पारिरहेको बताउनुभयो । ‘दुईजना अध्यक्ष कमरेडहरुले गृहकार्य गरिरहनुभएको छ ।

मुख्यतः अहिले राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने र साङ्गठनिक एकीकरणका बाँकी कामहरुलाई पूरा गर्ने गृहकार्य उहाँहरुले गरिरहनुभएको छ । उहाँहरुबीचको गृहकार्य छिट्टै सकिने हामीले आशा गरेका छौं’, श्रेष्ठले भन्नुभयो । पार्टीका दुई अध्यक्षले प्रतिवेदन तयार गर्न ढिलाइ गरे स्थायी समितिले टुंगो लगाउने पनि उहाँले बताउनुभयो ।

पार्टीका तत्कालीन र रणनीतिक लक्ष्यलाई समेटेर राजनीतिक प्रतिवेदन तयार हुने उहाँले बताउनुभयो ।अव कुनै पनि हालतमा पार्टी एकता नरोकिने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी एकतालाई कुनै पनि ढंगले समस्या पैदा गर्ने वा विग्रह गर्ने कुरा कतैबाट हुन्छ भने त्यो स्वीकार हुँदैन । कतैबाट त्यसो हुन्छ भन्ने पनि लाग्दैन’, श्रेष्ठले भन्नुभयो ।

नेकपा प्रवक्ता श्रेष्ठले मन्त्रीहरु हेरफेर गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको बताउनुभयो । ‘मन्त्रीमण्डलको हेरफेर हुँदै हुँदैन वा आज भोलि नै हुन्छ भन्ने पनि छैन’, उहाँले भन्नुभयो, ‘पार्टीमा छलफल भएको छैन । प्रधानमन्त्रीले केही तयारी गर्नुभएको भए मलाई थाहा छैन ।’ श्रेष्ठले सरकारको कार्यशैलीबारे अहिले भैरहेको आलोचनालाई स्वाभाविक मान्नुपर्ने पनि बताउनुभयो ।

आलोचना नभए सरकारले राम्रो काम गर्न नसक्ने भन्दै उहाँले सरकारका तर्फबाट पनि केही कमीकमजोरी भएको संकेत गर्नुभयो । ‘केही कमजोरी भएको पनि हुन सक्छ, आलोचनाले अझ बढी परिणममूखी बनाउन मद्दत गर्छ’, उहाँले बताउनुभयो ।

फरक प्रसंगमा श्रेष्ठले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा वार्तामा आउन नचाहेको बताउनुभयो । उसका गतिविधि अहिलेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सघाऊ पुर्‍याउने खालको नभएको श्रेष्ठले बताउनुभयो ।