जनता टाइम्स

२१ असार २०७६, शनिबार ०७:५६

प्राडा सूर्य सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि


लन्डन, असार २१

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्राडा सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । आफ्ना अन्तर्राष्ट्रियस्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत प्राडा सुवेदीलाई उक्त उपाधि दिइएको हो ।

अक्सफोर्ड जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो सर्वोच्च उपाधि पाउँदा आफू गौरवान्वित भएको प्राडा सुवेदीले बताउनुभयो । विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएपछि प्राडा सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्वभित्र पर्नुभएको छ ।

अन्तर्राष्ट्रिय कानुनको विकासमा उल्लेखनीय योगदान गरे वापत सुवेदीले बेलायती महारानीबाट सन् २००४ मा ‘ओबिइ’ को उपाधि पाप्त गर्नुभएको थियो । आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा न्यायपूर्ण संसारको विकासका लागि योगदान गरिरहने सुवेदीको कामलाई कदर गर्दै बेलायतकी महारानीले सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि ुक्यूसीु प्रदान गर्नुभएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयबाटै उत्कृष्ट शोधग्रन्थ वापतको पुरस्कारसहित सन् १९९३ मा विद्यावारिधि गर्नुभएका सुवेदीले नेपालमा पनि विभिन्न मान पदवी र पुरस्कार प्राप्त गर्नुभएको छ । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा ठूला र धेरै मान सम्मानले विभूषित एवं प्राज्ञिक तथा शैक्षिक उपाधि प्राप्त गर्ने सम्भवतः उहाँ एक मात्र नेपाली हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक सुवेदीले बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई स्नातकोत्तर गर्नुभएको थियो ।