जनता टाइम्स

२१ असार २०७६, शनिबार १३:१५

अमेरिकाबाट मुख्यमन्त्री शेरधन राईले गरे प्रवासी नेपालीलाई समृद्धिमा सहकार्यको यस्तो प्रस्ताव


बाल्टिमोर (अमेरिका) असार २१

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालाई समेटेर अघि बढ्ने अठोट गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेपालको तीब्र विकासका लागि संसारभरका नेपाली एकजुट भएर अघि बढनसमेत आह्वान गर्नुभयो ।

‘नेपालको तीब्र विकासका लागि संसारभरका नेपाली एकजुट भएर अघि बढनुपर्छ,’ मुख्यमन्त्री राईले भन्नुभयो । नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो । ‘हामी सबैको ध्यान नेपालमा आकर्षित गराउन चाहन्छौं, नेपालमा लगानीको वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौं । यसका लागि वातावरण बनिरहेको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो ।

उहाँले गैरआवासीय नेपालीको लगानीका लागि नेपालमा उपयुक्त समय भएको पनि प्रष्ट पार्नुभयो । ‘हामी वातावरण बनाइरहेका छौं । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न तीनै तहको सरकार लागिपरेको छ,’ मुख्यमन्त्री राईको भनाई थियो । नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको जानकारी पनि उहाँले दिनुभयो । ‘यो अभियानमा तपाई गैरआवासीय नेपालीहरुको पनि योगदान आवश्यक छ,’ उहाँको भनाई थियो ।

विगतमा नेपाल विभिन्न कारणले पछि परेको भएपनि यतिबेला नेपाल तीब्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल राष्ट्र स्पष्ट गन्तव्यसहित समृद्धिको महान यात्रामा प्रवेश गरेको ठोकुवासमेत गर्नुभयो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की र नेकपाका नेता ठाकुर गैरे, अबैतनिक महाबाणिज्य दुत प्रेमराजा महत, ओएनएफका अमेरिका अध्यक्ष प्रभु थापालगायत बिशिष्ट ब्यक्तिहरु सहभागी हुनुभएको थियो ।