जनता टाइम्स

२२ असार २०७६, आईतवार ०८:४९

किन एक महिलाले चार सन्तान सप्तकोशीमा बगाइन् र आफू पनि बगिन् कारण यस्तो ….


 

सप्तरी, असार २२ । आफ्ना चार सन्तानलाई सप्त कोशीमा बगाएर एक महिला आफू पनि शनिबार नदीमा हामफालेकी छन् ।

प्रहरीका अनुसार खातुन सप्तरीको हनुमाननगर कंकालिनी १ बाट तीन छोरा र एक छोरीलाई नदीमा फालेर आफू पनि हामफालेकी थिइन् । खोजीमा प्रहरी परिचालित भएको छ । त्यसरी हामफाल्नेमा ३५ वर्षीया रोशना खातुन छिन् । उनका एक छोरा बगेर नदी किनारामा तैरिएपछि उनले स्थानीयलाई घटनाबारे खबर गरेका थिए । स्थानीयले प्रहरी बोलाए । प्रहरी र स्थानीय उद्धारमा जुटे । खातुनलाई घटनास्थलभन्दा तीन किलोमिटर तल कोशी नदीमा काम गर्ने मजदुरले उद्धार गरेका थिए । झ्याङ्गमा अड्किएको अवस्थामा उनको उद्धार भएको हो । उनको भारदहस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । १२ र सात वर्षका छोरा र दुई वर्षीया छोरी बेपत्ता छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी डीएसपी मकेन्द्रकुमार मिश्रले महिलाका श्रीमान सम्पर्कमा आएको बताए ।

मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ । स्थानीय छिमेकीहरुका अनुसार श्रीमान मोहम्मद तैयव अर्की महिलासँगको सम्बन्धमा रहेका कारण घरमा खटपट भएको थियो । सोही कारण श्रीमानले उनलाई असह्य पीडा दिन थाले । श्रीमानबाट आजित भएर रोशना जनकपुरको वीरेन्द्रबजारस्थित माइतीको शरणमा गइन् । तर, माइती पक्षले समेत जस्तो कठिनाई भए पनि घरमै बस्नुपर्ने भन्दै फिर्ता पठाइदियो । उनले आफ्नो जाने ठाउँ कहीं नदेखेपछि घर जानुको साटो सप्तकोसीमा हामफालेको प्रहरीको प्रारम्कि अनुसन्धानले देखाएको छ । हामफाल्नुअघि उनका बालबालिका भोक लागेर खाने कुरा माग्दै रोएका थिए । उनले साँझपख छोराछोरीका लागि नास्ता किनेर खुवाएकी थिइन् ।

खातुनको १४ वर्षअघि सिरहा गोलबजारका नगरपालिका ८ गोविन्दपुरका तयवसँग मागी विवाह भएको थियो । हराइरहेका तीन बालबालिकाको खोजीमा प्रहरी र गोताखोर टोली परिचालन गरिएको छ । यद्यपि सप्तकोशीमा पानीको बहाब उच्च रहेका कारण खोजीकार्य प्रभावित भएको छ ।