जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार १८:४०

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु


नयाँदिल्ली, फागुन १७ । युक्रेनको खर्किभ सहरमा भएको गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मंगलबार बिहान भएको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गर्नुभएको छ । यस्तै उहाँले भारतीय नागरिक र विद्यार्थीलाई तत्काल युक्रेनको राजधानी छाड्न सल्लाह दिइएको र यसका लागि रुस र युक्रेनका दूतसँग कुरा भएको पनि बताउनुभएको छ ।युक्रेनमा मृत्यु हुने विद्यार्थी कर्नाटकका नवीन शेखरप्पा रहेको मुख्यमन्त्री बासवराज बोम्मईले पुष्टि गर्नुभएको छ ।

भारतीय समाचार संस्था एएनआईले मुख्यमन्त्री बोम्मईलाई उद्धृत गर्दै नवीन होवेरी जिल्लाका स्थायी बासिन्दा रहेको उल्लेख गरेको छ । नवीन एमबीबीएस चौथो वर्षका विद्यार्थी रहेको बेंगलुरु सेन्ट्रलबाट प्रतिनिधित्व गर्ने बीजेपी सांसद पीसी मोहनले जानकारी दिनुभयो । मुख्यमन्त्री बोम्मईले नवीनको शव भारत ल्याउनका लागि विदेश मन्त्रालयका अधिकारीसँग आफूले कुरा गरिरहेको बताउनुभयो । युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु भएपछि कांग्रेस नेता राहुल गान्धीले दुस्ख व्यक्त गर्दै हरेक मिनट महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् ।

युक्रेनमा फसिरहेका भारतीय नागरिकलाई उद्धार गर्न सरकारले रणनीतिक योजना बनाउनुपर्ने गान्धीले बताउनुभयो । युक्रेनमा करिब २० हजार भारतीय नागरिक रहेको अनुमान छ । त्यसमा अधिकांश विद्यार्थी छन् । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकको उद्धारका लागि ‘अपरेसन गंगा’ चलाइरहेको छ । युक्रेनका विभिन्न छिमेकी मुलुकमा आफ्ना नागरिकलाई ल्याएर त्यहाँबाट भारतले ‘एयर लिफ्ट’ गर्दै आएको छ । भारतले आफ्ना चारजना केन्द्रीय मन्त्रीहरुलाई पनि उद्धार कार्यमा युक्रेनका छिमेकी मुलुकहरुमा पठाएको छ । उद्धार कार्यमा वायु सेनालाई पनि परिचालन गरेको छ ।