जनता टाइम्स

२२ असार २०७६, आईतवार १२:०१

प्रधानमन्त्री रोजगार कार्यक्रमको उत्कृष्ठ नमुना – विद्यालय तथा घोडेटो बाटो निर्माण


कालिकोट, असार २२

प्रधानमन्त्री रोजगार कार्यक्रम कतिपय स्थानीय तहका नेतृत्वको कारण आलोचना भएपनि कतिपय ठाँउमा भने यसले निक्कै उत्कृष्ठ काम गर्न सफल भएको छ । कालिकोटको पलाँता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम भने निक्कै प्रभावकारी देखिएको छ ।

कार्यक्रममार्फत विद्यालय तथा घोडेटो बाटो निर्माणलाई प्राथमिकता दिइएको पलाँता गाउँपालिका रोजगार संयोजक जैमल बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले गरिब, द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई प्राथमिकता दिएर गाउँठाउँमै रोजगारी दिएको छ । गाउँमै रोजगारी पाएपछि गरीब, एकल महिला, द्वन्द्व पीडीत र शहीद परिवार खुशी भएका छन् ।

पलाँतामा प्रधानमन्त्री रोजगार कार्यक्रमले १ सय ८० जनालाई रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिनुभयो । कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत यहाँका सबै वडाहरुमा विद्यालय भवन मर्मत, फिल्ड निर्माण, खेल मैदान निर्माण, बाटो मर्मत, मन्दिर निर्माण, लगायतका कामहरु सञ्चालन भएका छन् । कार्यक्रमका लागि गाउँपालिकालाई ३७ लाख रुपैयाँ बजेट प्राप्त भएको लेखा अधिकृत खेमलाल पुनले जानकारी दिनुभयो ।