म्यानमार, असार २२
गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको यान्गोनमा सुरु भएको छ । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका विषयमा केन्द्रित रहने भनिएको यो बैठक जुलाई ६ र ७ गरी दुई दिन हुनेछ । बैठकको औपचारिक उद्घाटन आइतबार हुने भए पनि शनिबार एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासँग सम्बन्धित कार्यक्रम सम्पन्न भए।
बैठकको सुरुवात केन्द्रीय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएको थियो भने सभापतित्व क्षेत्रीय संयोजक किरण विक्रम थापाले गरेका थिए। बैठकमा नेपाल सरकारका पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, संघीय संसद्का माननीय सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डीबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मालगायत अन्य पदाधिकारी एवं सदस्य सहभागी रहने आयोजकले जानकारी दिएको छ।
बैठकमा मुलत प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवद्र्धनका कामबारे सहभागीले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपाली संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खासगरी थाइल्यान्ड र म्यानमारमा धेरै पहिलेदेखि नेपालीको बसोवास रहेकाले अन्य मुलुकका नेपालीभन्दा फरक मुद्दासमेत भएकाले ती विषयमा संघ र सरकारको फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको थियो।
महिला सत्रमा गैरआवासीय नेपाली अभियानमा महिला तथा युवाको भूमिका अग्रणी हुनुपर्ने नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनुपर्ने आवाज उठाइएको थियो। त्यसैगरी युवा सत्रमा दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनुपर्ने धारणा व्यक्त गरियो । मुलत युवाको विश्वासको तह बढाउनुपर्ने र विभिन्न मुलुकमा रहेका युवाबीच अनुभवको आदानप्रदान गर्दै सहकार्यको वातावरण बनाउनुपर्ने कुरामा जोड दिइएको थियो।
क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया, थाइल्यान्ड, हङकङ, दक्षिण कोरिया र आयोजक राष्ट्र म्यानमारको सहभागिता छ भने अन्य क्षेत्र अमेरिका, युरोप, मध्यपूर्व र ओसिनियाको समेत प्रतिनिधित्व छ। शनीबारको बैठकको सञ्चालन क्षेत्रीय उपसंयोजक पारशमणि पोख्रेल र गणेश शर्माले गरेका थिए । करिब तीन सय सहभागी रहेको बैठकमा आइतबार नेपालको समृद्धिसम्बन्धी विभिन्न विषयमा छलफल गरी निर्णय लिइनेछ । बैठकपछि सहभागीलाई म्यानमारस्थित नेपाली दूतावासले रात्रिभोजसहित स्वागत कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्