जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १२:३७

ब्याटिङ र बलिङले तरंग ल्याएका विश्वका ६ उत्कृष्ट अलराउन्डर


काठमाडौं, २० फागुन । क्रिकेट यस्तो खेल हो, जसमा टिमका हरेक खेलाडीले खेल जित्नको लागि कडा मिहेनेत गर्नुपर्ने हुन्छ । जुन टोलीमा सबैभन्दा धेरै र उत्कृष्ट अलराउन्डर छन्, त्यो टोली सधैं विपक्षी टोलीभन्दा एक कदम अगाडि हुन्छ । क्रिकेट फ्यानहरूका लागि, ‘महान खेलाडी’का बारेमा बहसले कहिल्यै अन्त्य नहुन सक्छ।

क्रिकेटमा सबैभन्दा बलियो टोली बन्न अलराउन्डरको आवश्यक पर्दछ । जसले ब्याट र बलले टिमको लागि चमत्कार गर्न सक्छ । जुन टोलीमा उत्कृष्ट अलराउन्डर हुन्छ, त्यो टोलीको खेल जित्ने सम्भावना बढी हुन्छ । यही कारणले गर्दा आजको क्रिकेटमा हरेक टोली दुईदेखि तीन जना अलराउन्डर लिएर मैदानमा आउँछन् ।

अहिले हरेक टिममा इंग्ल्यान्डको टोलीमा बेन स्टोक्स, भारतीय टोलीमा हार्दिक पाण्डेय र बंगलादेशसँग शकिब अल हसन जस्ता उत्कृष्ट अलराउन्डर छन् । आज हामी ६ अलराउन्डर खेलाडीको बारेमा चर्चा गर्दैछौं । कतिपयलाई क्रकेटबाट शन्यास लिएर पनि खेलप्रेमीले बिर्सन सकेका छैनन् । कतिपय अहिले पनि खेल जीवनमा सक्रिय छन् ।

१. ज्याक कालिस (दक्षिण अफ्रिका)

जब पनि अलराउन्डरको कुरा आउँछ, दिमागमा पहिलो नाम आउँछ ज्याक कालिसको । यो सूचीमा कालिस पनि शीर्ष स्थानमा छन् । हातमा ब्याट छ भने उत्कृष्ट पारी खेल्ने र हातमा बल छ भने विपक्षीलाई तहसनहस बनाउने क्षमता थियो, उनीसँग । उनले आफ्नो पहिलो टेस्ट १४ डिसेम्बर १९९५ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए।

कालिसले आफ्नो वानडे करियरमा ३२८ खेल खेलेका छन्। जसमा ४४ दशमलव ३६ को प्रभावशाली औसतमा ११ हजार ५७९ रन बनाएका थिए। कालिसले आफ्नो वानडे करियरमा १७ शतक र ८६ अर्धशतक पनि बनाएका छन्। बलिङका क्रममा कालिसले एकदिवसीय करियरमा २७३ विकेट पनि लिएका थिए।

आफ्नो टेस्ट करियरलाई हेर्दा कालिसले यसमा १६६ टेस्ट खेलेका छन्। जसमा ५५ दशमलव ३७ को औसतमा १३ हजार २८९ रन बनाएका छन्। आफ्नो टेस्ट करियरमा कालिसले ४५ शतक र ५८ अर्धशतक बनाएका थिए भने २९२ विकेट लिन सफल पनि थिए ।

२. शान पोलक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकी टोलीका सबैभन्दा छिटो र सफल बलर शान पोलक विश्वका उत्कृष्ट अलराउन्डर मध्येका एक हुन्। पोलकले १६ नोभेम्बर १९९५ मा इंग्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए । पोलकले आफ्नो टेस्ट करियरमा कुल १०८ खेल खेले। जसमा उनले आफ्नो नाममा ४२१ विकेट लिएका छन्। योसँगै उनले आफ्नो टेस्ट करियरमा ३२ दशमलव ३२ को औसतमा तीन हजार ७८१ रन बनाएका छन्।

पोलकले आफ्नो टेस्ट करियरमा दुई शतक र एक अर्धशतक पनि समावेश गरेका छन्। आफ्नो एकदिवसीय करियरको कुरा गर्दा पोलकले ३०३ ओडीआई खेल्दै ३९३ विकेट लिएका थिए भने पाँच पटक एक खेलमा पाँचभन्दा बढी विकेट लिन सफल पनि थिए। पोलकले आफ्नो वानडे करियरमा २६ दशमलव ४५ को औसतमा तीन हजार ५१९ रन बनाए। पोलकले एकदिवसीयमा एक शतक र १४ अर्धशतक पनि बनाएका छन्।

३. इमरान खान (पाकिस्तान)

यो सूचीमा पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि परेका छन्। उनको कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय विश्वकप जितेको थियो। इमरान खानले ३ जुन १९७१ मा इंग्ल्यान्डविरुद्ध टेस्ट डेब्यू गरेका थिए।

इमरान खानले आफ्नो टेस्ट करियरमा ८८ टेस्ट खेलेर ३६२ विकेट लिएका छन्। ब्याटिङ गर्दा ३७ दशमलव ६९ को औसतमा तीन हजार ८०७ रन बनाए। इमरान खानको नाममा टेष्टमा ६ शतक र १८ अर्धशतक रहेको छ। आफ्नो वानडे करियरको कुरा गर्दा उनले १७५ खेल खेले जसमा २६ दशमलव ६१ को औसतमा १८२ विकेट लिन सफल भए। आफ्नो एकदिवसीय करियरमा इमरान खानले एक शतक र १९ अर्धशतक सहित तीन हजार ७०९ रन बनाएका थिए ।

४. कपिल देव (भारत)

भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान मध्येका एक हुन्, कपिल देव। कपिल देवले आफ्नो कप्तानीमा भारतलाई सन् १९८३ मा विश्वकपको उपाधि दिलाएका थिए। तयो समयमा भारत सरकारले उनलाई गरेको सम्मान अविश्मरणीय छ।कपिल देवले आफ्नो वानडे र टेस्ट करियर अक्टोबर १९७८ मा सुरु गरेका थिए।

कपिलले पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए। टेष्ट करियरमा कपिलले १३१ टेस्टमा ३१ दशमलव ०५ को औसतमा पाँच हजार २४८ रन बनाएका छन्।

यस क्रममा कपिलले आठ शतक र २७ अर्धशतक प्रहार गरेका छन्। बलिङमा पनि कपिल देव सधैं टेस्टमा अगाडि छन्, कपिलले टेस्ट करियरमा ४३४ विकेट लिएका छन्। जसमा उनले २३ पटक पाँच वा सोभन्दा बढी विकेट आफ्नो नाममा लिएका छन्।

५. शाहिद अफ्रिदी (पाकिस्तान)

यो सूचीमा पूर्व पाकिस्तानी स्टार अलराउन्डर शाहिद अफ्रिदी पनि परेका छन्। अफ्रिदीले करियरमा ५२४ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। अफ्रिदीले आफ्नो करियरमा ११ हजार १९६ रन बनाएका छन् भने ५४१ विकेट लिएका छन्। अफ्रिदी वानडे क्रिकेटमा आठ हजारभन्दा बढी रन र ३५० भन्दा बढी विकेट लिने एकमात्र अलराउन्डर हुन्।

अफ्रिदीले वानडे खेलका ३९८ खेलमा आठ हजार ६४ रन बनाएका छन् भने अर्कोतर्फ ३४ दशमलव ५१ को औसतमा ३९५ विकेट लिएका छन्। उनी वानडे क्रिकेटमा पाकिस्तानका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।

६. शकिब अल हसन (बंगलादेश)

बंगलादेशका महान अलराउन्डर शकिब अल हसनको अहिले पनि क्रिकेटमा सक्रिय छन। सक्रिय खेलाडीहरूमा शकिब एक उत्कृष्ट अलराउन्डर हुन्। उनको नाममा अहिलेसम्म करियरमा १० हजारभन्दा बढी रन र ५०० भन्दा बढी विकेट छन्। शकिबले अहिलेसम्म कुल ३७१ खेल खेलेका छन्।

जसमा उनको नाममा १२ हजार ५८३ रन छ भने ६१४ विकेट लिएका छन्। यो प्रक्रिया अझै जारी छ र यी तथ्याङ्कहरू बलियो हुँदै छन्। शाकिबले टी–२० क्रिकेटमा आफ्नो ४०० विकेट पनि पूरा गरेका छन्। पुरुष टी–२० मा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पाँचौं बलर बनेका छन्।