जनता टाइम्स

२२ असार २०७६, आईतवार १३:५८

प्रदेश–३ स्वास्थ्य निर्देशनालयको ५५ प्रतिशत वित्तिय प्रगति


काठमाडौं, असार २२

सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ अन्तरगर्त स्थापित प्रदेश स्वास्थ्य निर्देशनालयले भदौदेखि जेठसम्मको नौ महिनाको अवधीमा ५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । निर्देशनालयले चालु बजेट अन्तर्रगत घंघीय ससर्त बजेटबाट आएको आठ करोड ८८ लाख बजेटमा गत जेठ मसान्तसम्म ५२ प्रतिशत प्रगति भएको बताएको छ । प्रदेश सरकारबाट प्राप्त चार करोड बजेटमा ५८ प्रतिशत बढी प्रगति भएको उल्लेख गरेको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल र प्रदेश स्वास्थ्य निर्देशनालय हेटौडाको संयुक्त आयोजनामा भएको पत्रकार अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा उपस्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले गत भदौबाट अस्थित्वमा आएको संस्थाले जनस्वास्थ्यका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । ‘साधनस्रोतको अभाव त छ, तर जे जति छ त्यसको भरपुर प्रयोग गरेका छौँ ।

प्रदेशले आमा सुरक्षा कार्यक्रमदेखि स्कुल हेल्थ नर्स कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य लगायतका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाएको छ,’ उहाँले भन्नुभयो । निर्देशनालयका योजना अनुगमन तथा नियमशन शाखाका प्रमुख डा. राजेन्द्र गिरीले अहिले पनि प्रदेशका करीब ३३ प्रतिशत वडाहरु सरकारी स्वास्थ्य संस्था विहिन रहेको भन्दै ती स्थानमा कार्यक्रम गर्न अफ्टेरो भएको बताउनुभयो ।

उहाँले समग्र देशको स्वास्थ्य अवस्था र प्रदेशको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकार मञ्चको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । स्वास्थ्य पत्रकार अतुल मिश्रले स्वास्थ्य पत्रकारिता विगत र बर्तमान विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा मञ्चका महासचिव रामप्रसाद न्यौपानेले संस्थाका गतिविधि र भावी रणनीतिका बारेमा जानकारी दिनुभएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा क्रियाशिल स्वास्थ्य पत्रकारहरुको सहभागिता रहेको थियो ।