जनता टाइम्स

२२ असार २०७६, आईतवार १५:४९

टुंगियो नेकपाको राजनीतिक प्रतिवेदन : भोलि प्रकाशनमा पठाईंने


काठमाडौं, असार २२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन टुंगिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आजको बैठकबाट राजनीतिक प्रतिवेदनलाई टुंग्याउनु भएको हो ।

ओली र प्रचण्डबीच आज भएको बार्तामा सो सहमति जुटेको हो । गत बर्षको जेठ ३ गते एकता भएपनि नेकपाको राजनीतिक प्रतिवेदन टुंगा लाग्न नसक्दा प्रकाशन भएको थिएन । राजनीतिक प्रतिवेदनको टुंगो नलागेपछि सचिवालयमै रहेका नेताहरुले समेत आ–आफ्नो ढंगले ब्याख्या गर्दै आउनु भएको थियो । प्रतिवेदनको अभावमा नेता–कार्यकर्ता नै अन्यौलमा परेपछि दुई अध्यक्षले आज अन्तिम टुंगो लगाई भोलि नै प्रकाशनमा पठाउने निर्णय लिनुभएको हो ।

‘आज बालुवाटारमा हामी दुई अध्यक्षबीचको छलफलबाट पार्टीको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि नै त्यो प्रकाशनमा जाँदैछ । आज हामीले एकतामा अडकिएको राजनीतिक प्रतिवेदन टुंगो लगाएर ठुलो काम पूरा गरेका छौं,’ प्रधानमन्त्री तथा अध्यक्ष ओली र आफबीच भएको छलफलबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले पार्टीको राजनीतिक प्रतिवेदन नहुँदा नेता–कार्यकर्ता नै अन्यौलमा पर्नु स्वभाविक भएको भन्दै अव अन्यौलता नरहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले एकताको बाँकी अन्य काम पनि अव टुंगो लाग्ने जानकारी दिनुभयो । ‘अवको महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै उहाँले आगामी महाधिवेशनमा नीति, नेतृत्वमा प्रतिस्पर्धा नहुने प्रष्ट पार्नुभयो । ‘हामीले एकताकै बेला सहमति गरिसकेका छौं, त्यसैले आगामी महाधिवेशन एकताको महाधिवेशन हुनेछ । बिचार, राजनीति र नेतृत्व सम्बन्धी निर्णय सहमतिका आधारमा गर्नेछौं । एकता महाधिवेनशपछि मात्रै जरुरी पर्दा प्रतिस्पर्धालाई सम्बोधित गर्न सक्छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।