जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १९:३२

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित


काठमाडौं, २६ फागुन । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा १८७ रनमै सेमेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।

श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए । यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे । नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए । रोहित पौडेलले सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन, करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे । यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए ।