जनता टाइम्स

२३ असार २०७६, सोमबार ०८:००

ब्राजिललाई १२ वर्षपछि कोपा अमेरिकाको उपाधि


काठमाडौं, असार २३

१२ वर्षपछि कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले १२ वर्षको उपाधिको खडेरी अन्त्य गरेको हो ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनलमा ग्याब्रिएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए । पछि उनी दोस्रो पहेँलो कार्ड खाएर मैदान छाड्न पनि बाध्य रहे। जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल थपे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए।

खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले जेससको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरियामा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई पाउलो गुएर्रोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।

तर सो बराबरी लामो समय टिकेन । केही मिनेटभित्रै जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा कार्लोस जाम्ब्रानोलाई फाउल गरेका कारण जेससले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ब्राजिल बाँकी २० मिनेट १० खेलाडीमा झरेको थियो ।

९०औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो । पेनाल्टीलाई सब्स्टिच्युट खेलाडी रिचार्डलिसनले गोलमा परिणत गर्दै ब्राजिलको १२ वर्षको कोपा अमेरिकाको खडेरी अन्त्य गरेका हुन् । ब्राजिलको समग्रमा यो नवौं कोपा उपाधि हो । आफूले आयोजना गरेको हरेक कोपा जित्ने रेकर्ड पनि ब्राजिलले कायम राखेको छ ।