जनता टाइम्स

२३ असार २०७६, सोमबार ११:३२

मलेसियालाई हराउदै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा


काठमाडौं, असार २३

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा पुगेको छ । आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

मलेसियाले दिएको ८८ रनको विजय लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि भिम सार्कीले अविजित ३३ रन बनाउदा रोहित कुमार पौडेलले पनि अविजित ३१ रन जोडे । दुवैले चौथो विकेटका लागि अविजित ६० रनको साझेदारी गरेका थिए । यस्तै नेपालका लागि पवन सर्राफले १८, रति गौतमले ३ रन बनाउदा खडगबहादुर बोहोरा डक आउट भए ।

यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनायो । नेपाली बलर चम्किएको खेलमा मलेसियाका मुहमद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए । नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।