जनता टाइम्स

६ चैत्र २०७८, आईतवार ०७:१२

बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली इलाम आउँदै


इलाम, चैत्र ६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो पटक इलामको सूर्योदय नगरपालिका आउदै हुनुहुन्छ । बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने हुनुभएको हो । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नुहुने छ । यो क्षेत्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र हो ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी हुनुभएको थियो तर खनाल नेकपा (एस) पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले बताउनुभयो ।

‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भन्नुभो ,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

‘अध्यक्ष ओली आउने भएपछि यहाँका नागरिक पनि उत्साहित छन्, कार्यक्रमको माहौल पनि बनेको छ’, अध्यक्ष बस्नेतले भन्नुभयो ,‘कार्यक्रमले यहाँको विकास र सम्बृद्धिको लागि अध्यक्षको ध्यानाकर्षण पनि हुन्छ ।’ नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गा देवी भट्टराईले जानकारी दिनुभयो ।

‘हामीले विभिन्न नौ वटा उपसमिति बनाएर तयारी गरिरहेका छौ, प्रचार प्रसारको काम तीव्र छ’, भट्टराईले भन्नुभयो ,‘स्वागत द्वार मञ्च निर्माणको काम पनि सम्पन्न भएको छ । फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ । चोक बजारमा कार्यक्रमको आयोजना हुने भएकाले सवारी साधनहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइने भएको छ । त्यस्तै कार्यक्रममा मानिसहरूको चाप हुने भएकाले मञ्च बाहेक अन्य दुई स्थानमा डिस्प्ले राखिने भएको छ ।