जनता टाइम्स

१० चैत्र २०७८, बिहीबार ०९:३२

रुस–युक्रेन युद्धको एक महिना : सडकमा उत्रिएर आफ्नो पक्षमा समर्थन जनाउन जेलेन्स्कीको आग्रह


काठमाडौं, चैत्र १० । रुसले युक्रेनमा आक्रमण थालेको आज एक महिना पुगेको छ । आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरका नागरिकलाई अपिल गरी सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन आग्रह गर्नुभएको छ ।रुसले स्वतन्त्रताविरोधी कदम चालेको उहाँको आरोप छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ ।

रुसले डेस्ना नदीमाथिको एउटा महत्त्वपूर्ण पुलमा क्षति गरेको छ भने चेर्निहिव सहर र राजधानी किएभबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ ।रुस र युक्रेनबीच यसअघि पटक पटक शान्ति वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य बन्न खोजेको आरोपसहित रुसले आक्रमण सुरु गरेको थियो ।

त्यस्तै युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दिनुपर्ने रुसको चाहना छ ।रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो ।