जनता टाइम्स

१० चैत्र २०७८, बिहीबार २१:१२

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल : पुलिस क्लब र त्रिभुवन आर्मी विजयी


नेपालगञ्ज, १० चैत । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा आजदेखि सुरु भएको आठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् ।

उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजित कुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे । त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफल भयो । त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् ।

उनलाई पुर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे । यसअघि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पिएम कप आठौं संस्करणको उद्घाटन गरेका थिए । भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए ।

उदघाटन मन्तव्य दिंदै मन्त्री अथकले पिएम कपलाई नेपाल सरकारको रातो किताबमा उच्च प्राथमिकताका साथ समावेश गर्ने बताउनुभयो । लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब (भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर (छत्तीसगढ भारत) को हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।