काठमाडौं, ११ चैत । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबको केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ काठमाडौं आउन लाग्नुभएको हो । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उहाँको तेस्रो नेपाल भ्रमण हो । चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उहाँले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ ।
अन्य देशको भ्रमण गर्दा उहाँ हाइकिङमा निस्कदैनन् । तर नेपाल भ्रमणमा आएको बेला उहाँ हाइकिङ गर्न छुटाउँनुहुँदैन । नेपालका सुन्दर पहाडले उहाँलाई लोभ्याउने गरेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यस पटकको भ्रमणमा पनि उहाँ हाइकिङ्मा निस्कने कार्यक्रम रहेको छ । पहिलो पटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रो पटक आउँदा उहाँको रोजाइमा परेको छ– शिवरपुरी ।
भोली विहान उहाँले शिवपुरी हाइकिङमा जाने कार्यक्रम तय भएको छ । उहाँले हाइकिङमा कति समय बिताउँछन् भन्ने केही खुलाइएको छैन । अघिल्ला भ्रमणमा उहाँले एक देखि डेढ घण्टा हाइकिङमा बिताउने गर्नुभएको थियो । वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उहाँले झक्तपुरको नगरकोट पुगी हाइकिङ गर्नुभएको थियो ।
वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गर्नुभएको छ । भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ । सन् २०१४ को डिसेम्बरमा उहाँ हिंड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उहाँ त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाउनुभएको थियो । उहाँ सूर्योदय र सूर्यअस्त अवलोकन गर्न नगरकोट पुग्नुभएको थियो । सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उहाँ सिधै नगरकोट पुग्नुभएको थियो ।
पछि मात्र थाहा भयो नगरकोटमा उहाँले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसक्नुभएको रहेछ । उहाँ रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गर्नुभएको थियो । वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गर्नुभएको थियो । त्यतिबेला पनि उहाँ सुटुक्क हाइकिङमा निस्कनुभएको थियो ।
सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उहाँ केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातिर्थ भञ्ज्याङसम्म हाइकिङ गर्नुभएको थियो । उहाँ चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन । मातातिर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उहाँ चन्द्रागिरी नै फर्कनुभएको थियो । उहाँले करिव डेढ घण्टा हाइकिङ गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्