जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०८:५५

अमेरिकामा भिषण बाढी, ह्वाइट हाउसमै पस्यो पानी


काठमाडौं, असार २४

अमेरिकाको वाशिङटन डिसी क्षेत्रमा अचानक बाढी आएको छ । बाढी लगत्तै सो क्षेत्रमा आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए ।

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो । केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो।अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भएको छ । वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो ।

बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध बनेको थियो । तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन् । त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन् । मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।