जनता टाइम्स

२४ असार २०७६, मंगलवार १४:२७

श्रममन्त्री बिष्टको चेतावनी : नेपालमा राजनीतिक अस्थिरता पैदा गरी धमिलो पानीमा माछा मार्ने प्रयास गरे सैह्य हुन्न


भक्तपुर, असार २४

श्रम, रोजगार तथा सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा राजनीतिक अस्थिरता पैदा गर्दै धमिलो पानीमा माछा मार्ने प्रयास गर्ने प्रतिगामी तत्वहरु जुर्मुराइरहेको बताउँदै देशको विकास र समृद्धिको यात्रामा बाधक हुने कुनै पनि प्रकारका गतिविधि सरकारको लागि सैह्य नहुने चेतावनी दिनुभएको छ ।

सोमवार चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले जनताको इच्छा, चाहना, समयको मागलाई पुरा गर्ने गरी निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वका कुनै पनि देशमा स्थानीय तहलाई सवैभन्दा बढी अधिकार प्राप्त गरेको देश मध्येमा नेपाल हो । परिवर्तनसँग सँगै प्राप्त स्रोत साधनको प्रयोग गर्दै जनताको अपेक्षलाई पुरा गर्नुपर्छ ।’

देश भित्र तथा बाहिरका शक्तिहरु व्यापक मात्रामा लागि परेको तर उनीहरुको धमिलो माछा मार्ने योजना सरकारले सहझै रुपमा असफल बनाउने समेत उहाँले जानकारी दिनुभयो । त्यस्तै उहाँले नेपालीको प्रगति देख्न नसक्ने शक्तिहरु दिनरात अघि बढेको तर नेपाल सरकार जनताको लागि कुनै व्यक्तिसँग नझुक्ने समेत दावी गर्नुभयो ।

भक्तपुर विकासमा उदाएको सूर्य जस्तै रहेको बताउँदै उहाँले भन्नुभयो, ‘वर्तमान सरकार एकपछि अर्को सरकारको निरन्तरता नभई नेपालको इतिहासमा आधारभुत तहबाट समस्या समाधान गर्दै समृद्ध नेपाल सुखी नेपालीको जनचाहनालाई पुरा गर्ने मुख्य जिम्मेवारी बोकेको नेकपा नेतृत्वको सरकार हो । कसैले राजनीतिक रुपमा अस्थितरता पैदा गरी धमिलो पानीमा माछा मार्ने कुचेष्ठा नगरे हुन्छ । त्यसमा सरकार सजक र सर्तक छ ।’

भक्तपुर ऐतिहासिक तथा सांस्कृतिक रुपमा धरोहरका रुपमा रहेको, विश्वमा आफ्नै अस्थित्व स्थापना गरेको बताउँदै मन्त्री विष्टले सरकारको समृद्धिको यात्रालाई गलत तरिकाले प्रचार गरिएको बताउनुभयो । उहाँले सरकारप्रति जनताको प्रतिव्यक्ति आम्दानी वृद्धि गर्ने, विकास निर्माण गरोस्, स्वास्थ्य, शिक्षा, आर्थिक तथा सामाजिक रुपान्तरण गरोस् भन्ने लगायतका धरै कुराहरुको अपेक्षा रहेको र सरकारले त्यो क्रमिक रुपमा पुरा गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुनियाको मानचित्रमा छोटै समयमा सुखी नेपालीको देश तथा समृद्ध नेपालको परिचय स्थापीत हुने देश नेपाल हुने बताउँदै नेपालको स्वाभिमानमाथि कसैले धावा बोल्छ भने सरकार त्यसलाई सहन नसक्ने समेत बताउनुभयो । निर्वाचनका समयमा नेकपाले जनता समक्ष गरेको बाचा शतप्रतिशत पुरा गर्ने समेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारको विकासको यात्रा अब रोकिदैन, जो रोक्ने खोज्ने प्रयास गर्छ त्यो आफै छोडिन्छ ।’

कार्यक्रममा नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको साथ र सहयोग भएका भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मा लिनुभएको छ । संसद बस्नेतले बोडेको कमलपोखरी तथा दक्षिण बाराहीको २२ रोपनी जग्गालाई सार्वजनिक बनाउने न्यायलयले विशेष सहयोग कै कारण व्यक्तिको नामबाट सार्वजनिक नै बनाउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा राज्यको स्रोत साथनलाई दुरुपयोग गरी हनुमन्ते नदीको करिव ६४ रोपनी र मनोहरा नदीको करिव ५४ रोपनी जग्गा, सरस्वतीखेलको बसपार्क क्षेत्रको जग्गा व्यक्तिको नाममा गएको जसलाई इमान्दारीताका साथ फिर्ता गर्नुपर्छ । होइन भने राज्यले बल प्रयोग गरेर भएपनि सार्वजनिक बनाएरै छोड्छ ।’

उहाँले थप्नुभयो, ‘भक्तपुरको विकास प्रचारमूखी नभई भ्रम चिर्ने कार्य गरेनौं । सुवर्णेस्वर तीनधारा सडकमा स्थानीयवासीले सडक निर्माण गर्न जग्गा उपलब्ध गराएको साथै स्थानीयवासीको साथ र सहयोगकै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सडक निर्माण कार्य भइरहेको छ ।

जहाँ प्रधानमन्त्री रोजगारमा मकै गोडेको भनेर अनावश्यक हल्ला फैलाईयो । त्यसो भन्नेहरुले अहिले गएर हेरे हुन्छ, उक्त स्थानमा सडक निर्माण कार्य व्यापक मात्रामा भइरहेको छ, ६ मिटरको बाटो निर्माण भइरहेको फोटो आएपछि भ्रम चिरिएको छ ।’

उपत्यका विकास प्राधिकरणले भक्तपुरमा यस वर्ष ४१ करोड बजेट विनियोजन गरेको जसमा ३० करोड नियमित बजेट रहेको छ भने बाँकी ११ करोड काठमाडौँ तथा ललितपुरमा काम हुन नसकेको बजेट भक्तपुरमा आएको जानकारी गराउँदै उहाँले अघिल्लो वर्ष चाँगुनारायणमा आठ वटा ठूला सडकहरु ल्याउन सफल भएकोमा १ अर्व ३१ करोड बजेट रहेको इतिहासमा नै सबैभन्दा बढी रहेको बताउनुभयो ।

उहाँले सूर्यविनायकमा १ अर्व ६ करोडमात्र बजेट ल्याउन सफल भएको समेत जानकारी गराउनुभयो । भक्तपुरमा यो वर्ष भौतिक मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय लगायतबाट पर्याप्त मात्रामा बजेट छुट्याउन सफल भएको बताउँदै उहाँले यो वर्ष भक्तपुरमा भौतिक मन्त्रालयको तर्फकाट मात्र २९ वटा सडकहरु, सहरी विकास मन्त्रालयबाट १६ वटा सडकहरु रेडबुकमा पार्न सफल भएको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकामा अघिल्लो वर्षका चारवटा सडकहरुले निरन्तरता पाएको साथै थप तीन वटा सडक डिपीआरको प्रकृयामा रहेको बताउँदै उहाँले विकासको १० लाखको डिपीआर बनाए लागि १० करोड बजेट ल्याउन सकिने बताउनुभयो । खानेपानीमा अघिल्लो वर्ष भक्तपुरमा ८ वटा योजनाहरु मात्र समावेश भएकोमा यो वर्ष ६१ वटा योजनाहरु समावेश भएको जसमा चाँगुनारायण नगरपालिकामा मात्रै १७ वटा रहेको जानकारी गराउँदै सांसद बस्नेतले मनोहरा खोलामा दुईवटा ठूला पुलहरु बन्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो ।

उहाँले पर्यटकीय क्षेत्र, पार्क, पोखरी लगायतका निर्माण गर्ने कार्यमा संघिय सरकारको तर्फबाट आवश्यक सहयोग तथा बजेटको व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश नं. ३ का सांसद शसी जंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपाका नेता मोहन वीर श्रेष्ठ, नेपाली कांग्रेसका नेता निशान ढुङ्गेल, राजाराम खड्कालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

चागुनारायण नगरपालिकाका प्रमुख शोम प्रसाख मिश्रले नगरपालिकाको बजेट प्रस्तुत गर्दै नगरपालिकाको भावि योजनाहरुका बारेमा स्पष्ट पार्नुभएको थियो ।