जनता टाइम्स

२४ असार २०७६, मंगलवार १९:३९

बिप्लव माओवादीलाई सघाउन मैदानमै उत्रियो कांग्रेस–राजपा : संसदीय मर्यादाबिपरित सदनमा अवरोध


काठमाडौं, असार २४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राजपाले बिप्लव नेतृत्वको माओवादी नेताको हत्या भएको भन्दै संसद बैठक अवरोध गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आजको बैठकमा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएलगत्तै प्रहरीले हत्या नै गरेको भन्दै संसद बैठक अवरोध गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गर्नुभयो । ‘कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो,’ गृहमन्त्री थापाको भनाई थियो ।

यस्तै यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको बताउँदै उहाँले यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको जानकारी दिनुभयो । मृतक राय र सिंहको परिवारलाई जनही रु २५÷२५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै रु पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको उहाँको भनाइ थियो ।

बालक रायको मृत्यु र झडपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको उल्लेख गर्दै गृहमन्त्रीले भन्नुभयो, ‘छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारवाही हुनेछ ।’ गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गर्नुभएको थियो । गृहमन्त्री थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताउनुभयो । ‘सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन,’ गृहमन्त्री थापाको जवाफ थियो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुपर्यो भन्ने प्रश्न गर्नुभयो । सांसद खाँड र सोही दलका भरतकुमार शाह, उमा रेग्मी, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, मीनबहादुर विक, गगनकुमार थापा, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू र पार्वती डिसी चौधरीले पौडेलको मृत्यु र बालक रायको निधनका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

राजपाका राजकिशोर यादव र प्रमोद साहले पनि सर्लाही घटनाबारे सरकारले बनीबनाउ उत्तर दिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँहरुले राज्यले खनेको कुवामा रायको डुबेर मृत्यु भएको हो, पौडी खेलेर होइन भन्नुभयो । यसपछि पनि गृहमन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै कांग्रेस र राजपाका सांसदले आआफ्ना आसनबाट उठेर छानबिन समिति गठनको माग गर्नुभएको थियो ।

परामर्शपछि निर्णय

सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठनसम्बन्धी मागका विषयमा आवश्यक परामर्श गरेर निर्णय लिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आवश्यक परामर्शका लागि समय दिनुहोस्, उचित निर्णय हुन्छ, त्यसका लागि सकारात्मक छौं, समय चाहियो ।’ सभामुख बोलिरहँदा कांग्रेस र राजपाका सांसदले आआफ्नो आसनबाट उठेर रोष्ट्रम अगाडि आई नाराबाजी गरिरहनुभयो । नाराबाजीका बीचमा नेकपाका खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै ती शब्द हटाउन माग गर्नुभयो । यसपछि सभामुख महराले बैठक १५ मिनेट स्थगन गर्नुभयो ।

त्यसअघि आजको बैठक शुरु हुनेबित्तिकै कांग्रेसका सचेतक पुष्पा भुसालले संविधान कार्यान्वयन गर्ने बेलामा शान्तिसुरक्षाको अवस्था दयनीय हुँदै गएको भनी चिन्ता व्यक्त गर्नुभयो । उहाँले सर्लाहीका पौडेललाई मुडभेटका नाममा गोली प्रहार गरी हत्या गरिएको भनी भत्र्सना गर्दै सो घटनामा मानवाधिकार हनन भएको अरोप लगाउनुभयो ।

राष्ट्रिय जनता पार्टीका राजकिशोर यादवले लोकसेवा आयोगले संविधानप्रदत्त अधिकार खोसेको आरोप लगाउँदै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकामा आपत्ति जनाउनुभयो ।

भोलिसम्म प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक भोलि बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिनुभयो ।

त्यसअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ नेकपा, नेपाली काङ्ग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल गर्नुभएको थियो । छलफलमा कुनै सहमति नभएपछि बैठक स्थगन भएको हो ।

प्रमुख प्रतिपक्षी, राजपालगायतले सर्लाहीका बालक अनुप रायको पोखरीमा परेर डुबेको घटना र सो घटनालाई लिएर न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको तथा कुमार पौडेलको मुठभेटमा निधनलगायत विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।