काठमाडौं, असार २४
‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ नामको स्मरणात्मक पुस्तक बजारमा आएको छ । असी वर्षको हाराहारीमा पुगेका २० जना पूर्वराजदूतको अनुभवलाई लिपिबद्ध गरेर पत्रकार विष्णु रिजालको सम्पादनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले उक्त पुस्तक बजारमा ल्याएको हो ।
नेपालको कूटनीतिक इतिहास समेटिएको उक्त पुस्तक आज राजधानीमा सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यसलाई देशको कूटनीतिकजगत्को आँखीझ्यालको संज्ञा दिनुभयो । नेपालको कूटनीतिक अभ्यास, पुरानो पुस्ताले गरेका काम, आधुनिक कूटनीतिको अभ्यास नहुँदै नेपाल राष्ट्रको स्वतन्त्रता कायम गर्न सक्षम पूर्वजबारे जानकारी लिन पुस्तक उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आफूले अमेरिका र भारतको राजदूत हुँदा निर्वाह गरेको भूमिका तथा आर्थिक कूटनीतिप्रतिको आफ्नो झुकावबारे चर्चा गर्नुभयो ।
पूर्वराजदूत मदनकुमार भट्टराईले जापानभन्दा अगावै नेपालले कूटनीतिक अभ्यास प्रारम्भ गरेको बताउँदै नेपालको कूटनीति सञ्चालनका आरोह–अवरोहको समीक्षा गर्नुभयो । पत्रकार युवराज घिमिरेले कूटनीति राष्ट्रिय हित र स्वार्थमा मात्र केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
सम्पादक रिजालले नेपालको कूटनीतिबारे ज्ञान बाँड्ने ध्येयले पुस्तक सम्पादनमा लागेको बताउँदै यसै पुस्तकको अर्को खण्डमा महिला राजदूतका अनुभवलाई पनि स्थान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विमोचन समारोहमा परराष्ट्र सचिव शङ्करदास वैरागी र प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्