जनता टाइम्स

२५ असार २०७६, बुधबार १२:२८

प्रदेश प्रहरीको कमाण्ड डीआईजीलाई


काठमाडौं, असार २५

संसदको राज्यव्यवस्था समितिले प्रदेश प्रहरी प्रमुखमा नायव प्रहरी महानिरीक्षक (डीआईजी) लाई पठाउने सहमति गरेको छ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा समितिले प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डीआईजीलाई पठाउने विषय सर्वसम्मतिले पारित गरेको हो ।

बुधबार सिहदरवारमा बसेको समितिको बैठकमा गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने सहमति गरेर औपचारिकरूपमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव समितिले सर्वसम्मतिले स्वीकार गरेको हो। त्यसरी प्रदेश प्रमुख भएर जाने डीआईजीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिह्न लगाउनेछन्। उनीहरू आइजिपी बन्ने सम्भावना कायमै रहनेछ।

प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ। प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (संघीय सरकार मातहत रहने प्रहरी)को भन्दा कम नहुने व्यवस्थामा पनि सहमति भएको छ। प्रदेश प्रहरीको सेवा, सुविधा, पोसाक, दर्ज्यानी चिह्न संघीय ऐनको मातहत रहेर बन्ने प्रदेश प्रहरी कानुनअनुसार हुने विषयमा समितिमा सहमति भएको छ। सरकारले विधेयक ल्याउँदा कुन तहको अधिकारीलाई पठाउने भन्ने स्पष्ट पारिएको थिएन।