जनता टाइम्स

२५ असार २०७६, बुधबार १६:२२

भोजपुर भिडन्त : प्रहरी जवान ढालेपछि आफू पनि ढले बिप्लवका कमाण्डर


भोजपुर, असार २५ । प्रहरीलाई आक्रमण गर्ने पार्टीको नीति छैन भन्दै बक्तब्यबाजीमा उत्रिएका बिप्लव समुहले बुधवार एक राष्ट्रसेवकको हत्या गरेको छ । भन्ने एउटा, गर्ने अर्काे गर्दै आएको बिप्लव समुहको गोली प्रहारबाट भोजपुरमा आज एक प्रहरी जवानको निधन भएको हो ।

बुधबार बिहान भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु ज्यान गयो । घटनामा एक प्रहरी जवान र एक विप्लव कमाण्डर मारिए । बुधवार बिहानै चिया नास्ताका लागि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई पाँचधारे होटलमा बसिरहेका थिए । गस्तीमा रहेको प्रहरी टोली त्यही होटलमा पुग्यो ।

प्रहरी देख्नेबित्तिकै अत्तालिएका विप्लव कार्यकर्ताले सुरुमै प्रहरीमाथि एकाएक फायर खोले । होटल आसपास रहेका स्थानीयबासीका अनुसार प्रहरी देख्ने बित्तिकै निरकुमार राई आफै प्रतिकारमा उत्रिए । प्रहरीले उनलाई पहिचान गर्न नपाउँदै छातीमा गोली लागेर प्रहरी जवान सञ्जीव राई भुइँमा ढले । लगत्तै प्रहरीको जवाफी फायरिङमा निरकुमारमाथि गोली लाग्यो। होटलमा एकाएक आतंक फैलियो । केही बेरमै भोजपुर बजार आतंकित बन्यो । अहिले बजार प्रायःबन्द जस्तै छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार अहिले भोजपुर सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक प्रहरी जवान र विप्लव कार्यकर्ताको शव जिल्ला अस्पतालमा राखिएको छ । एक घाइते प्रहरीको भोजपुर अस्पतालमै उपचार भइरहेको छ ।

स्रोतका अनुसार भोजपुर सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा प्रहरी गस्तीमा खटिएको थियो । नेपाल प्रहरीका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश थापाका अनुसार मृत्यु हुने विप्लव कार्यकर्ताको साथबाट एक थान चाइनिज पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको छ । भोजपुरमा प्रदेश १ बाट थप सुरक्षाकर्मी पठाइएको छ । भोजपुरमा पक्राउ गर्न खोज्दा विप्लव कार्यकर्ताले गोली हानेपछि जवाफी फायर गर्दा विप्लव कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रहरीका निमित्त प्रवक्ता थापाले पक्राउ गर्न गएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी फायर गरिएको उहाँले बताउनु भयो । भोजपुर नगरपालिका–७ स्थित हटियालाइनमा हतियारसहित प्रवेश गरको सूचनाको आधारमा गएको प्रहरी टोलीका जवान राईलाई विप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईले गोली हानेको प्रहरीको भनाई छ । सञ्जीवको कोखामा गोली लागेको थियो । सञ्जीव ढलेपछि भोजपुर षडानन्द गाउँपालिकाका निरकुमारमाथि प्रहरीले जवाफी फायर गरेको हो ।

निरकुमारलाई नियन्त्रण लिने क्रममा जवान खेमनाथ भट्टराई घाइते भएको प्रधान कार्यालयले जनाएको छ । भट्टराइको बायाँ कुमको हड्डी भाँच्चिएको छ । अर्का जवान सुरेन्द्र माझीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विप्लव कार्यकर्ताको साथबाट चाइनिज पेस्तोल, म्याग्जिन र ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट सात सय मिटर नजिक पर्छ ।

प्रधान कार्यालयका अनुसार चार–पाँच जनाको संख्यामा रहेका विप्लव कार्यकर्ता फरार छन । भिडन्तमा मारिएका निरकुमार आइतबार मात्रै भोजपुर आएका थिए । निरकुमार र सञ्जीवको सोही वडामा दुई सय मिटरको फरकमा डेरा छ । सञ्जीव लामो समय भोजपुर प्रहरीमा सादा पोशाकमा कार्यरत थिए । उनीहरू आपसमा परिचित रहेका थिए ।
एक सालयता निरकुमार ओखलढुंगामा पार्टी गतिविधिमा सक्रिय थिए। कहिलेकाहीँ भोजपुर आइरहन्थे। श्रीमती डेरामा भएका कारण भेट्न आउने गरेका थिए । उनी पूर्वमाओवादी लडाकु हुन ।