जनता टाइम्स

२५ असार २०७६, बुधबार १७:२५

त्रिबिलाई प्रधानमन्त्री ओलीको निर्देशन : जायज कुरामा कसैसँग शिर नझुकोस, नाजायज कुरा नहोस


काठमाडौं, असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । विश्वविद्यालयसभाको ६० औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन निर्देशन दिनुभएको हो ।

‘शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ । जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन, नझुकोस, नाजायज कुरा सुनिदैन, कसैबाट पनि नहोस । अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला । त्यस्तो लबिङ सुनिँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३ सयभित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने धारणासमेत राख्नुभयो ।

‘शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालय उद्घाटन पनि गर्नुभएको थियो । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताउँदै संघीय र प्रादेशिक विश्वविद्यालयको वर्गीकरणपछि नयाँ ढंगले अघि बढ्नुपर्ने आग्रह गर्नुभयो । ‘विश्वविद्यालय अब हिजोको तरिकाबाट चल्दैन । यो प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ,’ मन्त्री पोखरेलले भन्नुभयो ।

त्रिबिका उपकुलपति प्राडा तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, उत्पादनमुखी बनाउन समयानुकूल पाठ्यक्रम निर्माण र परिमार्जनका लागि प्राथमिकता दिएको बताउनुभयो । शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले त्रिविमा व्याप्त रोगको उपचारका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो रहेको बताउनु भयो । बैठकमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गर्नुभएको ५७ औँ ग्रेस लिष्ट पारित भएको थियो ।