जनता टाइम्स

२५ असार २०७६, बुधबार २१:१९

भारतविरुद्ध सनसनीपूर्ण जित निकाल्दै विश्वकपको फाइनलमा पुग्यो न्युजिल्यान्ड


लन्डन, असार २५

न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले खराव सुरुवात गर्दै ४९.३ ओभरमा दुई सय २१ रन मात्र बनायो । जवाफी ब्याटिङ गरेको भारतले पाँच रनमा तीन विकेट गुमाएको थियो। प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली व्यक्तिगत एक एक रनमा पेभेलियन फर्किए। त्यसपछि दिनेश कार्तिक पनि व्यक्तिगत ६ रनमा आउट भएपछि भारत दबाबमा परेको थियो।

रिषभ पन्त र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाए पनि जीत निकाल्न संभव भएन । पन्त २४औं ओभरमा ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। पाण्ड्या पनि ३२ रनमै आउट भए। त्यसपछि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले एक सय १६ रनको साझेदारी गरेका थिए। जडेजाले ७७ रनको अर्धशतकीय पाली खेले। उनले ५९ बलमा चार छक्का र चार चौका हिर्काए। धोनीले पनि ७२ बलमा ५० रन बनाए। ४८.३ ओभरमा धोनी रन आउट भएपछि भारतको फाइनल पुग्ने सम्भावना सकिएको थियो।

न्युजिल्यान्डका म्याट हेनरीले तीन विकेट लिए। यसैगरी मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले दुई÷दुई तथा लुकी फर्गुसन र जेम्स निसामले एक÷एक विकेट हात पारे। यसअघि न्युजिल्यान्डले मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर कप्तान केन विलियम्सनको निर्णयलाई न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानले सही सावित गर्न सकेनन्।

मार्टिन गप्टिल व्यक्तिगत एक रन बनाउँदै पेभेलियन फर्किएपछि कप्तान विलियम्सन र हेनरी निकोलसले पाली सम्हालेका थिए। यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेनरी २८ रनमा आउट भएपछि विलियम्सन र रस टेलरले न्युजिल्यान्डको पाली अगाडि बढाए। उनीहरुले ६५ रनको साझेदारी गरेका थिए। विलियम्सनले ६७ रनको अर्धशतकीय पाली खेले। उनले ९५ बलमा ६ चौका हिर्काए।

न्युजिल्यान्डले ४६।१ ओभरमा पाँच विकेट गुमाएर दुई सय ११ रन बनाएको अवस्थामा पानी पर्न थालेपछि खेल रोकिएको थियो। खेल रोकिँदा रस टेलर ६७ रनमा अविजित थिए। सोही अवस्थाबाट बुधबार खेल सुरु हुँदा न्युजिल्यान्डले बाँकी २३ बलमा २८ रन बनाउँदै तीन विकेट गुमाएको थियो। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३९ रनको योगफल खडा गरेको थियो। अघिल्लो दिन ६७ रनमा अविजित रहेका टेलर ७४ रनमा पेभेलियन फर्किए। उनी रवीन्द्र जडेजाबाट रनआउट भएका थिए। न्युजिल्यान्डका कोलिन डे ग्रान्डहोमले १६, जेम्स निसामले १२ र टम लाथमले १० रन बनाए।

भारतका भुवनेश्वर कुमारले तीन विकेट लिए। यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजभेन्द्र चाहलले एक÷एक विकेट हात पारे। यसरी न्यूजिल्याण्डले भारतमाथि सनसनीपुर्ण जीत निकाल्यो ।