जनता टाइम्स

२६ असार २०७६, बिहीबार ०६:१२

भन्सार बिन्दुमै बिषादी परीक्षणको कथा : मुख्यसचिव रेग्मीको पासोमा पर्यो ओली सरकार


‘बिषादी परीक्षण प्रयोगशाला छ तर भन्सार बिन्दुमा छैन, परीक्षण गर्ने ब्यवस्था राखौं, भन्सार बिन्दुमै परीक्षण भन्दा अहिले संभव हुन्न, तरकार कुहिएर खेर जान्छ,’ सो बैठकमा अर्थसचिव र कृषि सचिवको भनाई थियो । तर जवाफमा मुख्यसचिव रेग्मी र बाणिज्य सचिव अधिकारीले हामीलाई किन त्यस्को चिन्ता ? कुहिएर जान्छ, त्यसै गाडछन भन्दै कडकिनु भयो

काठमाडौं, असार २६

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनतामा बदनाम गराएर चारैतिर घेरावन्दीमा पार्ने ग्य्राण्डडिजाइन अन्तर्गत भन्सार बिन्दुमै फलफूल तथा तरकारीको बिषादी परीक्षणको सूचना प्रकाशित गरिएको पाइएको छ । राजपत्रमा सूचना प्रकाशित गर्नुअगावै कानून निर्माणकै चरणमा अर्थसचिव राजन खनाल र कृषि सचिव प्रकाश माथेमाले भन्सार बिन्दुमा बिषादी परीक्षणको पूर्वधार नरहेको जनाई असहमति राख्नुभएको थियो ।

मुख्यसचिव लोकदर्शन रेग्मीसहितको सो बैठकमा दुवै सचिवले बिषादी परीक्षणपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने ब्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । मुलुकको यथार्थाअनुसार काम गर्न दिइएको सुझावअनुसार अन्तिम रुप दिने भन्दै उठेका मुख्यसचिव रेग्मीले बाणिज्य सचिव केदारबहादुर अधिकारीसँग छलफल गरी भन्सार बिन्दुमै परीक्षण गर्ने शब्द घुसाएर सरकारबिरुद्ध अस्त्र प्रयोग गरेका हुन ।

‘बिषादी परीक्षण प्रयोगशाला छ तर भन्सार बिन्दुमा छैन, परीक्षण गर्ने ब्यवस्था राखौं, भन्सार बिन्दुमै परीक्षण भन्दा अहिले संभव हुन्न, तरकार कुहिएर खेर जान्छ,’ सो बैठकमा अर्थसचिव र कृषि सचिवको भनाई थियो । तर जवाफमा मुख्यसचिव रेग्मी र बाणिज्यसचिव अधिकारीले ‘हामीलाई किन त्यस्को चिन्ता ? कुहिएर जान्छ, त्यसै गाडछन भन्दै कडकिनु भयो । मन्त्रिपरिषदको निर्णय प्रमाणिकरणको जिम्मा पाएका मुख्यसचिव रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध जनता भडकाउनकै लागि भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था राखिदिएको ती एक सचिवले बताए ।

गत सोमवारको मन्त्रिपरिषद बैठकमा भने रेग्मीले भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था कहाँ छ भन्दै प्रधानमन्त्री ओलीलाई भ्रम दिन खोजेका थिए । तर एक मन्त्रीले यो के हो भन्दै प्रश्न उठाएपछि रेग्मीको बदमासी खुलेको थियो । यता भन्सारमा तरकारी र फलफूल रोकिएपछि नेपालस्थित भारतीय दुतावासले गराएको ध्यानाकर्षण पत्रसमेत गुपचुप राखी प्रधानमन्त्रीलाई जानकारी नदिइएको तथ्य खुलेको छ ।

‘दुतावासले भन्सार बिन्दुमा परीक्षण प्रयोगशाला छैन, मान्यताप्राप्त निकायबाट परीक्षण गरेको प्रमाणपत्रका आधारमा हुने ब्यवस्था होस भनेर परराष्ट मन्त्रालयलाई पत्र पठायो । परराष्टले कृषि मन्त्रालयमा पठायो, कृषिले बाणिज्य मन्त्रालयमा पठायो, तर यति गम्भीर बिषयमा प्रधानमन्त्री ओलीलाई कुनै पनि मन्त्रालयले जानकारी दिएन । जव पत्र सार्वजनिक भयो, प्रधानमन्त्रीले सोध्दा मन्त्रीहरुले आफ्नो फायलमा राखेर बसेको पाइयो,’ एक मन्त्रीले जनताटाइम्ससँग भने । उनका अनुसार तीनवटै मन्त्रालयले दुतावासको पत्रको बिषयमा प्रधानमन्त्रीलाई कुनै जानकारी नदिएकै कारण प्रधानमन्त्रीले नेकपाको संसदीय दलमा कसैको पत्रबारे आफूलाई जानकारी नभएको बताउनु भएको थियो ।

‘मुख्यसचिव र सचिवहरुले प्रधानमन्त्रीलाई पुरै गुमराहमा राखेको पाइयो, मन्त्रीहरुले पनि आफ्नो मन्त्रालयको कमाण्ड गरेको देखिएन,’ ती मन्त्रीले भने । उनका अनुसार नेपाल भारत सम्बन्ध चिसो पार्न र सरकारबिरुद्ध जनता भडकाउन भन्सार बिन्दुमै परीक्षण भन्ने ब्यवस्था गरी ओली सरकारबिरुद्ध मुख्यसचिव रेग्मीले पासो थापिदिएपछि यो बिवाद आएको हो । ‘भन्सार बिन्दुमा बिषादी परीक्षण गर्ने भौतिक पुर्वाधार छैन भन्ने जान्दाजान्दै मुख्यसचिवले सरकारबिरुद्ध खेल खेले, त्यसैको पासोमा सरकार पर्यो,’ अर्का मन्त्रीले भने ।