जनता टाइम्स

२६ असार २०७६, बिहीबार ०६:३०

उद्धार होस भन्दै कतारबाट डाँको छोडेर रोइन युवती : सुनाइन अनैतिक काम गर्न दबाब दिने गरेको पीडा


विराटनगर, असार २६

कतारमा रहेकी मोरङ सुन्दरहरैंचा नगरपालिका १० निवासी तीर्था विकसँग बुधबार बिहान श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले टेलिफोनमा कुराकानी गर्नुभयो । वैदेशिक रोजगारीका लागि गत जेठ १४ गते कतार पुगेकी बिकले सञ्जेललाई त्यहाँ आफूले भोगेका सबै पीडा सुनाउनु भयो । पीडा सुनाइरहेका बेला टेलिफोनमै डाँको छाडेर रुँदै तीर्थाले जति सक्दो चाँडो उद्धार गर्न अनुनय बिनय गर्नुभयो ।

आधा घण्टासम्म रुँदै सुनाएका कुराले सञ्जेल पनि निक्कै भावुक बन्नुभयो। विदेशमा रहेकी नेपाली युवतीका पीडाले मन अमिलो बनेको बताउँदै सञ्जेलले भन्नुभयो, ‘तत्काल उद्धारका लागि पहल सुरु हुन्छ। विदेश पठाउने व्यक्ति वा म्यानपावर जो भए पनि छानबिन गरेर कारबाही अघि बढाइने छ।’

तीर्थाले आफू घाजी अब्बु ट्रान्सपोर्ट एण्ड सर्भिस नामक कम्पनीमा बन्धक जस्तै भएको बताउनुभयो । ‘अस्पताल र स्कुल सरसफाईको काममा भनेर यहाँ पठाइएको हो, अझैसम्म भने अनुसारको काम र सेवा सुविधा दिइएको छैन,’ आफ्नो पीडा सुनाउँदै तीथाले भन्नुभयो । उहाँले कम्पनीका माान्छेले अनैतिक काम गर्न दबाब दिने गरेको र त्यो नगरे कुट्ने गरेको पीडासमेत सुनाउनुभयो । भाषागत समस्याका कारण पनि आफू समस्यामा परेको उहाँको भनाई थियो ।

तीर्थाको पीडा सुनेपछि निकै भावुक बन्नुभएका सञ्जेलले पनि नेपाली चेलीको समस्यालाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिंदै त्यसपछि अन्य कारबाही अघि बढ्ने बताउनुभयो । उहाँले युवती पठाउने म्यानपावरको लापरबाही देखिएकोसमेत बताउनुभयो ।

विदेशमा छोरीले दुःख पाएको भन्दै तीर्थाकी आमा सीता विक रुँदै श्रम कार्यालय आइपुग्नुभएको थियो । उहाँले गत मंगलबार सुनसरीको इटहरीमा रहेको विराट इन्टरनेशन ट्रेडिङ सेन्टरका सञ्चालक गोपाल पोखरेलविरुद्ध उजुरी समेत दिनुभएको छ । महिलाका क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालमार्फत् श्रममा पुग्नुभएकी सीताले पोखरेलमार्फत् नै आफ्नी छोरी कतार गएको बताउनुभयो । ‘मैले कतारमा छोरीलाई यातना दिइरहेको कुरा पटक पटक सुनाउँदा पनि नेपाल झिकाउन सहयोग गरेनन्, छोरीको उद्धार र दोषीलाई कारबाही गर्न माग गर्दछु,’ सीताले भन्नुभयो ।

ओरेकका विराटनगर प्रमुख दीपक सेनचुरीले नेपालकै बाटो प्रयोग गरेर युवतीलाई कतार पठाएको पाइएको जानकारी दिनुभयो । यता पोखरेलले आफ्नै सेन्टरमा तालिम दिए पनि आफूले तीर्थालाई कतार नपठाएको दाबी गर्नुभयो । आफ्नो म्यानपावर नभएकोले कतार पठाउने सम्पर्क व्यक्तिको भूमिका मात्रै खेलेको जनाउँदै पोखरेलले तीर्था काठमाडौंको सिन्धुली ओभरसिज नामक म्यानपावरबाट कतार गएको बताउनु भयो ।

पोखरेलले युवतीसँग म्यानपावरले एक लाख १० हजार रुपैयाँ लिएर कतार पठाएको बताउनु भयो ।