जनता टाइम्स

२६ असार २०७६, बिहीबार ११:४८

मुख्यमन्त्री डोरमणि पौडेलको उत्कृष्ट काम : ६० प्रतिशत बजेट आफ्नै जिल्लामा


काठमाडौं, असार २६

प्रदेश ३ सरकारले हालसम्म खर्च गरेको रकममध्ये आधा भन्दा बढी रकम मुख्यमन्त्री डोरमणि पौडेलको गृहजिल्ला मकवानपुरमा खर्च गरेको पाइएको छ । हालसम्म भएको खर्चको ६० प्रतिशत भन्दा बढी रकम मुख्यमन्त्री पौडेलको गृहजिल्लामा खर्च भएको तथ्यांक पाइएको हो ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार मुख्यमन्त्री पौडेलको गृहजिल्ला मकवानपुरमा असार २५ गतेसम्म ९ अर्ब ३६ करोड ३९ लाख ३२ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ । सो कार्यालयका अनुसार प्रदेश ३ को १३ जिल्लामा यस अवधिमा जम्मा १५ अर्ब ९८ करोड ४९ लाख ४ सय ९९ रुपैयाँ खर्च भएको छ ।

मकवानपुरपछि चितवनमा सबैभन्दा बढी बजेट खर्च भएको छ । चितवनमा एक अर्ब ६ करोड ५७ लाख ९७ हजार ६ सय ७२ खर्च भएको हो । तथ्यांकअनुसार भक्तपुर काम गर्नेमा अब्बल जिल्ला परेको छ । प्रदेशभित्रका एक सय ६१ निकायले विभिन्न जिल्लामा गरेको काममध्ये भक्तपुरमा छुट्याइएको बजेटमा ६० दशमलव ५७ प्रतिशत खर्च भएको छ । भक्तपुरले ४६ करोड ६९ लाख ३९ हजार ८ सय ५९ रुपैयाँ खर्च गरेको हो । सबैभन्दा कम बजेट प्राप्त गरेको रसुवामा हालसम्म जम्मा १४ करोड ४४ लाख २२ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश ३ सरकारको ४४ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयकाअनुसार चालु आर्थिक वर्षको असार २५ गतेसम्म १५ अर्ब ९८ करोड ४९ लाख ४ सय ९९ रुपैयाँ खर्च भएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालुतर्फको बजेटमा ७३ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फ जम्मा २५ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षको वैशाखसम्म जम्मा ८ अर्ब ४ करोड ४१ लाख ५५ हजार रुपैंया मात्र खर्च भएको कार्यालयको तथ्यांक छ । तर असार २५ सम्म खर्चको विवरण दोब्बर भएको हो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले असार अन्तिम एक सातामा कुल बजेटको १६ प्रतिशत बढी भुक्तानी हुने अनुमान गरेको छ ।