काठमाडौं, ५ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिनुभएको छ । आज बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिनुभएको हो । पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिनुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठकमा फेरि प्रचण्ड सहभागी हुनुहुनेछ । ‘अहिले गठबन्धनको बैठकबाट अध्यक्षज्यू बाहिरिनुभएको छ । उहाँ पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा सहभागी हुन गठबन्धन बैठकबाट बाहिरिनुभएको हो,’ मल्लले भन्नुभयो,‘पत्रकार सम्मेलन सकिएपछि पुनः अध्यक्षज्यू गठबन्धन बैठकमा जानु हुन्छ ।’
गठबन्धन बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गरेर उम्मेदवार तय गर्ने विषयमा कुराकानी भइरहेको मल्लले जानकारी दिनुभयो । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उहाँको भनाइ छ ।
बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्