जनता टाइम्स

२६ असार २०७६, बिहीबार १३:४५

मुख्यमन्त्री कप फाइनल खेल, रंगशाला नै डुबेपछि विराटनगरबाट सारियो धरान


विराटनगर, असार २६

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने उहाँले बताउनुभयो । प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि रु एक करोड प्रदेश सरकार र रु ३३ लाख अखिल नेपाल फुटबल संघ एन्फाले उपलब्ध गराएको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करीब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ ।