जनता टाइम्स

१३ बैशाख २०७९, मंगलवार ०९:०२

एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै


बुटवल, बैशाख १३ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी हरिजनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका ६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गउनु भएको छ । रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उहाँ नै सबैभन्दा कान्छी उम्मेदवार हो । ‘म आफै पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छुु भन्ने लागेर उम्मेदवारी दिएको हो,’ स्वेताले भन्नुभयो ।

उहाँले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाउनु भयो ।

स्वेता हाल स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ । सिद्धार्थनगर ६ मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनु भएको छ । अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार स्वेताले उम्मेदवारी दिएको बताउनु भयो ।