जनता टाइम्स

२७ असार २०७६, शुक्रबार ०८:३३

चालु आर्थिक वर्षमा यसरी हुदैछ विकासका काम


काठमाडौं, असार २७

आर्थिक वर्ष २०७५\७६ सकिनै लाग्दा सरकारले चालू आर्थिक वर्षको विकास प्रगतिबारे समीक्षा आरम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयहरूको प्रगति विवरण लिन थाल्नुभएको छ । यो क्रम शुक्रबार पनि चल्ने छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गरियो । सम्बन्धित मन्त्रालयका सचिवहरूले चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले जानकारी दिनुभयो ।

विद्युत् उत्पादन बढ्यो

चालू आवमा विद्युत् जडित क्षमता १९५ मेगावाट थप भई एक हजार ३२५ मेगावाट पुगेको छ । त्यस्तै प्रसारण लाइन निर्माण ६६ केभी र सोभन्दा बढी क्षमताका चालू आवमा ७५७ स.कि.मि. निर्माण भई हालसम्म चार हजार १९५ सर्किट किलोमिटर पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तर्फबाट जानकारी दिइयो ।

पूर्वाधार विस्तार

सडक स्तरोन्नतिअन्तर्गत कालोपत्रे स्तरको सडक ९१५ किलोमिटर विस्तार भएको छ । त्यसैगरी ग्रावेलस्तरको सडक एक हजार ५० किमि, माटे सडक ३१५ किमि, पुल निर्माण २४३ वटा, डीपीआर निर्माण (रेलमार्गतर्फ) ४२१ किमिको निर्माण भएको जनाइएको छ ।

त्यस्तै जयनगर–जनकपुर–कुर्था (३५ किमि) रेल लाइन तथा रेल्वे स्टेसन तयार भई आगामी असोजसम्ममा सञ्चालन हुने अवस्था रहेको उल्लेख छ । कुर्था–बिजलपुरा खण्डको १७ किमिसहित ५२ किमि खण्डमा आगामी फागुनसम्ममा रेल सञ्चालन हुने जानकारी दिइयो ।

सहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेसका २० वटा जिल्ला सदरमुकामका नगरपालिकाहरूमा सहरी पूर्वाधार विकासअन्तर्गत कुल २३०.२५ किलोमिटर सहरी सडक, ३३३.३६ किलोमिटर सतही ड्रेन, ढल १३.५७ किमि र इनरुवा, सिद्धार्थनगर र धनगढी बसपार्क निर्माण सम्पन्न भएको बताइएको छ । बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माणको कार्य सुरु भएको पनि प्रगति विवरणमा उल्लेख छ । यसै वर्ष १७७ वटा स्वास्थ्य भवन निर्माण पनि सम्पन्न भएको जनाइएको छ ।

खानेपानीमा पहुँच वृद्धि

मन्त्रालय मातहतका विभिन्न निकायबाट २४२ वटा भूकम्प प्रभावित आयोजनाहरू, २५० ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षातको पानी सङ्कलनमा आधारित आयोजनाहरू गरी समग्रमा ५२६ वटा खानेपानी आयोजनाहरू सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको प्रगति विवरणमा समावेश छ । मन्त्रालय मातहतका विभिन्न निकायबाट १८ वटा ठूला खानेपानी आयोजना सम्पन्न भई दुई लाख २३ हजार ९९१ जनसङ्ख्या उच्च र मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको उल्लेख छ ।

सञ्चार सेवा विस्तार

स्थानीय तह र सर्वसाधारणबीच सम्बन्ध स्थापित गर्न तयार भएको स्थानीय तह मोबाइल एप ३९६ स्थानीय तहले प्रयोगमा ल्याएको जानकारी गराइएको छ । काठमाडौँ उपत्यकाभित्रका सबै चलचित्र घरहरूमा बक्स अफिस प्रणाली लागू भएको र उपत्यकाबाहिर बक्स अफिस प्रणाली जडान भई परीक्षण भइरहेको प्रतिवेदनमा उल्लेख छ । छ करोड ३२ लाख रुपियाँको पत्रकार वृत्ति कोष स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ । चालू आवमा २० वटा सरकारी सेवालाई विद्युतीय माध्यममा आबद्ध गरिएको र राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना भई सञ्चालनमा आएको पनि प्रतिवेदनमा उल्लेख छ ।

औद्योगिक पूर्वाधार निर्माण

भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरी २२ वटा उद्योग सञ्चालनका लागि अनुमतिपत्र प्रदान गरिएको उल्लेख छ । त्यस्तै पाँचखाल, नुवाकोट र रसुवामध्ये एक स्थानलाई क्रस बोर्डर इकोनोमिक जोनका रूपमा स्थापनाका लागि चिनियाँ पक्षबाट स्थलगत अध्ययन भएको जनाइएको छ । यो वर्ष पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माण सुरु भएको पनि उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।

जग्गा प्रशासन प्रणालीको आधुनिकीकरण, अनलाइन प्रणाली, भूउपयोग क्षेत्र वर्गीकरण, नक्साङ्कन र सोसम्बन्धी ऐन तर्जुमा, नापनक्सा र भूसूचना प्रविधिमा अत्याधुनिक प्रविधिको सुरुआत, सगरमाथा आरोहण, उचाइ मापनको फिल्ड कार्य सम्पन्न भएको तथा गरिबी निवारण नीति, २०७६ स्वीकृत, गरिब घरपरिवार पहिचान सर्वेक्षणको लागि विधि, प्रक्रिया र डाटा कलेक्सन एप्लिकेसन तयार भइसकेको जानकारी गराइएको छ ।

शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा प्राकृतिक चिडियाखाना निर्माण कार्यअन्तर्गत १० वटा मचान निर्माण गर्ने लक्ष्य लिइएकोमा १५ वटा निर्माण भएको छ । सातवटा पर्यटक विश्रामस्थल निर्माण गर्ने लक्ष्य लिइएकोमा पाँचवटा निर्माण भएको उल्लेख छ । त्यस्तै एक हजारवटा पानी पोखरी निर्माण तथा सिमसार व्यवस्थापन गर्ने लक्ष्य लिइएकोमा ९४१ वटा व्यवस्थापन भएको मन्त्रालयले जनाएको छ । चालू आवमा ४६ जिल्लाका ४५६ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भई बिमित हुनेको सङ्ख्या १८ लाख नाघेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको विवरणलाई प्रगति मानेको छ भने स्थानीय तहको निम्ति नमुना कानुन तथा मापदण्डको तर्जुमा गरी सङ्घीयता कार्यान्वयन गर्नका लागि स्थानीय तहलाई विभिन्न कानुन तथा नियमावलीको नमुना हस्तान्तरण गरेको जनाएको छ ।

विमानस्थल निर्माणमा प्रगति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नति ६० प्रतिशत सम्पन्न भई यही असार १६ देखि रातिमा पनि सञ्चालनमा ल्याइएको जनाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत भएको उल्लेख छ । उता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको प्रगति ४२ प्रतिशत पुगेको उल्लेख छ । त्यसैगरी १०० वटा गन्तव्यको विकास निर्माणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको पनि जनाइएको छ ।

पदमार्ग विस्तारका लागि हेलम्बु क्षेत्रमा १०, लाङटाङ क्षेत्रमा २०, मकालु वरुण क्षेत्रमा आठ, दोलखा लखनपुरमा १०, रुकुममा गुरिल्ला ट्रेल र यार्सा ट्रेल १० र १० किमि पदयात्रा मार्ग निर्माण गरी कुल ६८ किमि निर्माण सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।