जनता टाइम्स

१४ बैशाख २०७९, बुधबार १५:१०

मेलम्ची नगरपालिकामा एमालेको जित सुनिश्चित छ : उमा प्रधान


उपप्रमुखको उमेदवार, मेलम्ची न.पा., सिन्धुपाल्चोक

यो पटकको स्थानीय निर्वाचन–२०७९ जित्ने आधार के हुन् ?
जनता र जनभावना । यी दुवै कुराहरु एमालेको पक्षमा छ । यहाँका सचेत दिदीवहिनी, दाजुभाई र आमाबुवाको प्यारो पार्टी नेकपा एमाले हो । सवैको चाहना इच्छा र रोजाई नेकपा एमाले र यसको चुनाव चिन्ह सुर्य रहेकोछ । यस अघिको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको मेयर उपमेयर सहित १३ वटा वडाहरु मध्ये ८ वटा वडा जितेर ईतिहास कायम गरेको पालिका हो ।

जिल्लाका सवै पालिकाहरुमा हाम्रो राम्रो पकड छ, अझ यो पालिका त हाम्रो आधार ईलाका हो, जग हो । सबैभन्दा शक्तिशाली उपस्थिति भएको पालिका यो पालिका हो । नेकपा एमालेको पुरानो राजनीतिक ईतिहास शुरु भएको पालिका मेलम्ची नगरपालिका हो । पञ्चायती व्यवस्थाको अन्त र प्रजातन्त्रको स्थापना र देशमा भएका अन्य सवै प्रकारका आन्दोलनमा यो पालिका अब्बल र सकृय रहेको थियो ।

माओवादी द्वन्दकालमा राज्य पक्षबाट भएका कार्यहरु र विद्रोही पक्षबाट भएका कामहरुका कारणले सृजना भएको आपत् विपतमा सामन्जस्यपुर्ण व्यवहार निभाएका छौं। दुवै पक्षबाट भएका हत्या हिंसा र ज्यादतीको विरुद्धमा निष्पक्ष भुमिका निभाएका छौं। हाम्रो कारणले धेरै सेना पुलिस र जनप्रतिनिधीहरुको जीवनको रक्षा गरेका छौं । तेसै गरि विद्रोहीका नाममा विद्रोह दावाउन राज्य पक्षबाट भएका नराम्रा कामको खवरदारी गरेका छौं । हामी दुवैको वीचमा बसेर दुधको दुध पानीको पानि पार्ने काम गरेका छौं । क्षतिलाई न्युनिकरण गरेका छौं ।

समाजको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा, रोजगारी, विपद् व्यवस्थापन, दीगो विकास, पर्यावरण सुरक्षण, आय आर्जनका लागि संघ, संस्था र निकाय सँग सहकार्य गरेका छौं। प्रादेशिक सरकार र संघिय सरकारको सहकार्यमा धेरै योजनाहरु पाईपलाईनमा छन्, भविष्यमा तिनीहरुलाइ सम्पन्न गर्नेछौं । सम्पन्न योजनाको दीगोपनाका लागि प्रणालीगत विकास र सिष्टमको शुरुवात गर्दै लाने योजना हामीसँग छ । मेलम्चीबासीको जनजिविका, जीवन र पेसालाई सरलीकरण गर्ने काम गरिरहेका छौं ।

हामीले यस अगाडि गरेका कामका शुरुवातलाई सम्पन्न गर्न र अधुरा काम पुरा गर्न हामी नै अन्य राजनीतिक दल भन्दा अब्बल छौं । हामीसँग राजनीतिक चेत र वौद्धिकता छ । मजदुर, किसान, सिकर्मी, डकर्मी, शिक्षक, डाक्टर, ईन्जिनियर, व्यवसायिक क्षेत्रका मानिस, महिला, दलित, जनजाति, अपांग क्षेत्रका व्यक्ति व्यक्तित्व, सरकारी गैर सरकारी क्षेत्रका विज्ञ र उहाँहरुको विज्ञता देखि सवै तह र तप्काको सल्लाह र सुझावलाई लिखित वा मौखिक रुपमा लिने कार्य गरिएको छ। यसलाई अझै व्यवस्थित पार्दै लगिनेछ। हामी नै जनताको सेवक र सच्चा सहयात्री हौं ।

आर्थिक समृद्धि अहिलेको पहिलो प्राथमिकिता हो । नाकाबन्दीको सामना, भुकम्पको क्षतिले गरेको विनासको पूनः निर्माण, वर्तमान राष्ट्रिय राजनीतिको मियो , देशको गुमेको भुभाग प्राप्तिको मार्गदर्शन, देशको चुच्चे नक्सा प्रकाशन, एकवेष्टित राष्ट्रिबाट अन्तराष्ट्रिय आयामको प्रगति, आर्थिक विकास, विकास निर्माणका आयोजनाको मुलस्रोत र कन्सेप्ट नेकपा एमाले संगछ। म त्यो पार्टीको सिपाही हुँ । तेसैले नेकपा एमालेले निर्वाचन विश्चित रुपमा जित्छ, हामी यो पटक १३ वटै वडा सहित पालिका प्रमुख र उपप्रमुख जितेर देखाउँछौं । जनताको भावना, ईच्छा र चाहना नै एमालेको जीतको आधार हो ।

तपाईलाई राजनीतिक इतिहास र सामाजिक क्षेत्रमा कम योगदान भएको उमेदवार भन्ने आरोप छ नि ?

यो त बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको विंड भने जस्तै हो । म विद्यार्थी कालदेखि नै अनेरास्ववियुको नेतृत्वमा वसेर काम गरेको मानिस हो । म २०४७/४८ बाटै अनेरास्ववियु रामेछाप जिल्लाको जिल्ला कमिटीमा बसेर काम गरें । २०५२ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा म त्रिभुवन विश्वविद्यालय अन्तरगतको पव्लिक युथ क्याम्पस, धोविचौर क्षेत्रपाटीमा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षको उमेदवार भइनिर्वाचन फेस गरेर आएको हो ।

२०५३ सालमै म नेकपा एमालेको जिल्ला कमिटि रामेछापको जिल्ला सदस्य हुँ । नेकपा सिन्धुपाल्चोकको जिल्ला कमिटीमै मैले ३ कार्यकालको झण्डै १२ वर्ष बिताएको छु । बाह्रविसे अक्करमा भएको जिल्ला अधिवेशनबाट निर्वाचित भएको महिला हो । अघिल्लो मेलम्ची अधिवेशनको सर्वसम्मत जिल्ला कमिटिको सदस्य हो । हालै सम्पन्न नेकपा एमाले जस्तो देशको पहिला र ठूलो दल, जिल्लाको सवैभन्दा शक्तिशाली पार्टींको जिल्लाको महिला उपाध्यक्ष हैन, उपाध्यक्ष हो ।

म अखिल नेपाल महिला संघको जिल्ला कमिटिको सचिवको रुपमा सानदार रुपमा १ कार्यकाल सम्पन्न गरि अर्को कार्यकालमा अनेमसंघको अध्यक्ष भएर सिन्धुपाल्चोकमा महिलाको क्षेत्रमा सबल र सफल मानिसहरु नेतृत्वमा छन् भनेर मैले प्रमाणित गरिदिएको छु । अहिले पनि म अनेमसंघको केन्द्रीय कमिटीको सदस्य हुँ । यस अघिको संविधान सभाको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट समानुपातिक तर्फ नेकपा एमाले जस्तो विशाल भीमकाय संगठनबाट महिलाहरु मध्ये एकमात्र महिलाको नाम जिल्ला कमिटिबाट सिफारिस भएको थियो ।

हो, त्यो मानिस, त्यो महिला उमा प्रधान म हो । अन्तर पार्टी महिला सञ्जाल नेपालका राष्ट्रिय र ठूलासाना पार्टीका महिलाहरुको संयोजक, सभापति र अध्यक्षहरुको नेतृत्व गर्ने निकाय हो, म त्यो निकायको पनि पहिलो व्यक्ति अध्यक्ष अझ भनौं जिल्ला अध्यक्ष भएर जिल्लाका सवै महिलाहरुको सञ्जाल संचालन गरेको अनुभव छ, म त्यही व्यक्ति हुँ । जसजसले मलाई यो प्रश्न गर्न चाहन्छन् म उहाँहरु सवैसँग विनम्र अनुरोध गर्दछु कि सामाजिक र राजनीतिक जीवन तपाईले कहिले कहाँबाट शुरु गर्नुभएको हो ? मैले राजनीतिक यात्राको नेतृत्व गर्दा तपाईहरु के गर्दै हुनुहुन्थ्यो ?

भलै यो तुलना गर्ने विषय हैन तर तुलना नै गर्ने भए पनि म तयार छु । मलाई यो प्रकारको भनाई राख्ने साथीहरु जस्ता व्यक्तिलाई राजनीति, समाज, शिक्षा, विकास, आर्थिक उन्नयन जस्ता विषय सिकेर, सिकाएर पढेर, पढाएर कठिन सघर्शबाट आएकी महिला हो । विभिन्न सामुदायिक सरकारी विद्यालयको व्यवस्थापन समितिमा सकृय भूमिका निभाएकोछु। विद्यालय व्यवस्थापन समितिको सदस्यको काम गरेकी छु । सामुदायिक क्याम्पसको सञ्चालक समितिको सदस्यको भुमिकामा सक्रिय छु । महिला हिंसा विरुद्धको राष्ट्रिय अभियानको म एक प्रमुख योद्धा र अभियन्ता हुँ ।

अन्तर्राष्ट्रिय नारी दिवस जस्ता शसक्तिकरण अभियानको जिल्लाको प्रमुख व्यक्तिको नाम सोध्नुस्, त्यो मियोको नाम सोध्नुस, जो सुकैले उमा प्रधान भन्छन् । भुमिस्थान महिला सामुदायिक संस्थाको १० वर्ष प्रवन्धकको काम गरेको छु । जागृत महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर विधानले उल्लेख गरे बमोजिम ३ कार्यकाल दक्षतापुर्वक काम गरेकीछु । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको देशव्यापी कामको नेतृत्व गरेर काम गरेको म सँग अनुभव छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाको महिला शसक्तिकरण शाखाको नेतृत्वदायी काम गरेकोछु । मेलम्चीको सवैभन्दा ठुलो, पुरानो र जेठो संस्था महिला आत्म निर्भर केन्द्रको वर्तमान सचिव छु । म सँग अन्य धेरै क्षेत्रको अनुभव र ज्ञान छ, यो सवै अन्तर्वार्तामा भनेर सम्भव कुरा हैन । सबै विपक्षी पार्टीका उपमेयरका उमेदवारहरु मात्र हैन मेयरका उमेदवार भन्दा म नै पुरानो विरासत, अनुभव, क्षमता र राजनीतिक इतिहास भएको व्यक्ति हुँ । तेसैले त मैले बुझ्नेलाई श्रीखण्ड भनेको हुँ नि ।

एमालेले जितेपछि नगरको विकास र उन्नयनका लागि गर्ने भावि योजना के छ ?

विगतका राम्रा र असल कामलाई हामी निरन्तरता दिनेछु । अधुरा कार्यहरु सम्पन्न गर्ने विषयमा ध्यान केन्द्रित गर्नेछु । यहाँ गरीबी अध्यधिक छ । रोजगारीको ठूलो समस्याछ । यसको समाधानका लागि नीजि क्षेत्र, सहकारी, सरकारी निकाय र लाईन एजेन्सीहरु, सरकारी र राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संघ– संस्थाहरु सँग हातेमालो गर्नेछौं । काठमाण्डौं महानगर सँगको भगिनी सम्वन्ध स्थापित भैसकेको छ, यसलाई विस्तार र विकास गर्ने कार्य गर्नेछु ।

चेतनास्तर वृद्धिसँग सम्वन्धित कार्यहरु, महिला तथा युवाहरुलाई सशक्तिकरण तथा सीप विकाससँग जोड्ने काम गर्नेछु । मठ, मन्दिर, देवालय, धार्मिक, साँस्कृतिक पक्षको संरक्षण र विकासका कार्यक्रम संचालन गर्नेछु । संसारका विकसित सहरहरुसँगको सहकार्यमा विकास र प्रविधि तथा उद्यमशीलतालाई प्रवर्धन गर्नेछु । उपप्रमुख यहाँको न्यायाधिश पनि हो । जनताले न्याय नपाएको अवस्था छ। प्रत्यक्ष देखिने र अनुभव गर्ने गरी न्याय सम्पादनका काम गर्नेछु ।

शान्ति, अमनचैन र सुरक्षाको प्रत्याभुति दिने गरि कार्यप्राणली स्थापित गर्नेछु, यसका लागि प्रहरी, प्रशासन, नेपाल आर्मी र पालिकाका युवा तथा अन्य सवैको सहयोग लिईनेछ । हप्तौ सम्म काम नहुने, जता गयो त्यता लाईन बस्नु पर्ने, ढिला सुस्तीहुने, सेवा ग्राहीले सेवा नपाउने हालको अवस्थाको अन्त गर्न प्रणालीगत सुधार गर्नेछु। अनलाईन सेवा तथा सुचना प्रविधि, सञ्चार प्रविधि, विज्ञानको प्रयोग वा उपयोग जस्ता विकासमा दु्रततर पाहिला चाल्नेछु ।

नगरमा रहेको अधिकारलाई नियमानुसार विकेन्द्रीकरण गरि वडावडा सम्म पुराउनेछु । पेशा व्यवसाय र उद्यमको प्रवर्धन र पर्यटन विकासका विषयहरुलाई प्राथमिकताका साथ अगाडि वढाउनेछु । मेलम्ची बाडिले क्षत विक्षत बनाएको मानविय मनलाई मल्हम पट्टी लगाउनेछु । भौतिक संरचनालाई पूनः जीवित गर्न सवैसँग मिलेर काम गर्नेछु । यो मेलम्ची सभ्यताको रुपमा विकास गर्ने काम गर्नेछु । जनताहरुले टोल विकास संस्था मार्फत, वडाहरु मार्फत आएका विकास निर्माण र अन्य योजनालाई प्राथमिकताका साथ अगाढि बढाउनेछु ।

महिला, जनजाति, दलित उत्पिडितको सहाराको रुपमा नगरपालिकालाई स्थापित गर्नेछु । शिक्षा, स्वास्थ्य, सहकारी, सिंचाई,खानेपानी, मोटरबाटो, सुचना संचार तथा विज्ञान प्रविधिको विकासमा अर्जुन दृष्टि दिनेछु र यसको सुधारमा मरिमेटेर लाग्नेछु । वाढि, पहिरो, भुक्षय, नदीकटान जस्ता कुराहरुको समस्याहरुलाई न्युनिकरण र नियन्त्रणका व्यवस्थित कार्ययोजना बनाई लागू गर्नेछु ।

कृषि यहाँका मानिसहरुको प्रमुख पेशा व्यवसाय भएकोले यस्को उन्नयनमा योजनावद्ध कदमहरु चाल्नेछु । मेलम्चीको पानी काठमाडौं पठाएबापत प्राप्त हुने लेभिको नियमन र सही सदुपयोगका लागि जनतासँग मिलेर काम गर्नेछु । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, नगदेवाली, फलफुल पकेट क्षेत्र, सब्जी उत्पादन, मासु उत्पादन तथा यिनीहरुको वजारीकरण तथा वितरणको संयन्त्रको विकासमा लाग्नेछु । गरीब र निमुखाहरुको सहारा नगरपालिका हुनेछ । उत्पिडित, हेपिएका, थिचिएका, मिचिएका, दमित भावनाहरुको कदर गरी कार्यक्रम ल्याउनेछु ।

सामाजिक सुरक्षाका कार्यक्रम पारदर्शी तथा प्रभावकारी पार्नेछु । स्थानीय प्रतिवद्धता पत्र हाम्रो एउटा प्रमूख आधार हो, नेकपा एमाले मेलम्चीले स्थानीय आवश्यकता र खाँचोलाई मध्य नजर गरी स्थानीय प्रतिवद्धता पत्र तयार गरेकोछ । हामी यसलाई मुल आधार बनाएर समग्रमा सुशासनको प्रत्याभुति हुने गरी काम गर्नेछौं । हामी देशका ७५३ वटा पालिकाहरु मध्ये ५ वर्ष भित्रमा राम्रा काम गर्ने पालिकाहरुको नाम देश भरिबाट लिन परेमा यो नगरपालिकाको नाम आउने गरी काम गर्नेछौं ।

तपाईले त मेयर भन्दा अझै अगाडि बढेर कार्ययोजना बताउनुभयो त, के यो सबै गर्न सम्भव छ ?

असम्भवको अ झिकेर फालिदिनुस् त सम्भव हुन्छ । अब हामी पछाडि रहीरहन सक्दैनौ । विकास पथमा पाईला लम्काउने हो । अगाडि बढ्ने हो । तपाईले के असम्भव देख्नु भयो ? किन भन्नुस् त ? हाम्रा मेयर अधिवक्ता हुनुहुन्छ । वहाँ यो नगरपालिको हेवीवेट उमेदवार हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण हुनुहुन्छ । भुमी आन्दोलनमा सिन्धुपाल्चोकमा तपाईले कस्को नाम लिनुहुन्छ ? कसैको नाम लिनुहुन्छ भने मेयरका उमेदवार बालकृष्ण देउजाको नाम सवैभन्दा माथि आउँछ । वहाँ विभिन्न विषयका ज्ञाता हुनुहुन्छ ।

सफ्ट स्किल र हार्ड स्किलका विषयमा नेपालमै गिनेचुनेको प्रशिक्षक र तालिम दिने व्यक्ति हुनुहुन्छ बालकृष्ण देउजा । उहाँलाई दीगो विकासका १७ वटा लक्ष्यहरु र त्यसका सुचकहरु सवै कन्ठाग्रछ । उहाँ सिन्धुपाल्चोक जिल्लामै अध्ययन अनुसन्धानका क्षेत्रमा अब्बल मानिस हुनुहुन्छ । स्थानीय सरकार सञ्चालन ऐनको मस्यौदा देखि नै अध्ययन गरेको व्यक्ति हुनुहुन्छ । अनि उहाँ यो पालिकाको मेयरमा शानदार मतले जित्दै हुनुहुन्छ । म उपमेयरका सबल र सक्षम उमेदवार हो ।

भोलि जिते पछि के गर्ने भन्ने कुरा त अहिले नै एकिन हुन परेन र ? मैले त्रिभुवन विश्व विद्यालय बाट व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकोछु । शिक्षा शास्त्र संकायमा स्नातक पढिरहेकोछु । राष्ट्रिय पाठ्यक्रम प्रारुप र सक्षमतामा आधारित पाठ्यक्रमको राम्रो ज्ञान हामी सँग छ । योजना निर्माण र कार्यान्वयमा हाम्रा गाउँका बाआमा र अग्रजले हामीलाई डोराएर लानुहुनेछ ।

आमा बुबा दाजुभाई दिदीबहीनीहरु हाम्रा कुशल सामाजिक कालिगड हुन् । वहाँहरुको कार्यक्षमता र दक्षता संसारको तुलनामा अत्यधिक छ । हाम्रा गाउँबासीलाई कस्ले रोक्छ विकास गर्न हेरम् त ? गाउँको निर्माण र प्रगति अब रोकिन्न । हामी सँग जनता हुनुहुन्छ । हामी उहाँहरुको सेवकको रुपमा काम गर्छौ अनि, कुनै शंका छ र ? नेकपा एमालेको जीतलाई, मेलम्चीको विकास र समृद्धिलाई कसैले रोक्न सक्नेवाला छैन

अन्तमा केही भन्नु छ ?

भर्खर नयाँ साल २०७९ शुरु भएको छ । नयाँ वर्षको अवसरमा सम्पुर्ण नगरवासी र देशभित्रर वाहिर रहुनभएका सवैमा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्रमा सार्वभौम सम्पन्न जनता भनेकै यही हो निर्वाचनबाट आफ्नो नेतृत्व चयन गर्ने, नेतृत्वलाई अगाडि बढाउने र नियमन गर्ने । म तपाईहरुको अमुल्य मतको कदर गर्नेछु ।

तपाईहरुले दिएको मत सही ठाउँमा परेछ, सही मान्छेलाई भोट दिएको रहेछु भन्ने महशुुस हुनेगरी काम गर्नेछु । तपाईहरुको अभिमतलाई खेर जान दिने छैन । यो मुटुको रगत दिनु भन्दा ठुलो र महत्वपुर्ण कुरा हो । तेसैले २०७९ साल वैशाख ३० गते शुक्रवार दुःख कष्ट सहेर, घाम पानी नभनेर जे जसरी भएपनि नेकपा एमालेका उमेदवारहरुलाई सुर्य चिन्हमा अमुल्य मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।