जनता टाइम्स

२७ असार २०७६, शुक्रबार ०८:५८

पूर्व र मध्यमा ठुलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं, असार २७

देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रहसमेत गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताउनुभयो । अहिले देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा धेरै ठूलो वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

खासगरी आज पूर्व र मध्य क्षेत्रका केही स्थान भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाडी क्षेत्रमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव बढ्न सक्ने उल्लेख गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएको छ ।