खोटाङ, वैशाख १५ । नेकपा एमालेले खोटाङमा दुईस्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । एमालेले १० मध्ये दुई पालिका प्रमुखमा महिलालाई अघि सारेको हो ।
एमालेले खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरलाई प्रमुखको उम्मेदवार बनाएको छ । प्रमुखको उम्मेदवारमा सिफारिसमा परेका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी हुनुभएको थियो । यस्तै, अघिल्लो निर्वाचनबाट उपप्रमुखमा निर्वाचित भएकी मगरलाई यसपल्ट प्रमुखमा लड्ने अवसर मिलेको हो ।
यस्तै, हलेसी तवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसबाट विमला राईको मनोनयन दर्ता भएको छ । यसअघि उपमेयरमा निर्वाचित बिमला यसपल्ट मेयरको उम्मेदवारका रूपमा अघि सारेको हो ।
२०७४ सालको स्थानीय तहमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगा गाउँपालिकामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । जन्तेढुंगामा गठबन्धनले माओवादी केन्द्रकी अरुणादेबी राईलाई प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको हो । माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो ।
१० स्थानीय तहमा कुल १ हजार ३३० जनाको मनोनयन दर्ता हुँदा ७९ महिला वडा सदस्यका लागि २३४ र ७९ दलित महिला सदस्यका लागि २२२ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्