जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १०:५४

डा. केसीले गरे चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा आवेदन दिने सवै डाक्टरलाई अयोग्य घोषणा


काठमाडौं, असार २७ ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियालाई लिएर त्रिबि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले असन्तुष्टि जनाउनु भएको छ । लामो समयदेखि त्रिबि शिक्षण अस्पतालको काम भन्दा राजनीतिक बक्तब्यमा उत्रनुभएका डा केसी उपाध्यक्ष पदमा दुई दशक अनुभव हासिल गरेका चिकित्सकले आवेदन दिए पनि अयोग्य भन्दै असन्तुष्टि सार्वजनिक गर्नुभएको हो ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि डा. श्रीकृष्ण गिरी, डा. प्रमोदकुमार सरार्फ, डा. पारस पोखरेल, डा. नीलाम्बर झा, डा. रमेश सिंह र डा. नीलमणि उपाध्यायले आवेदन दिनुभएको छ । डा केसीले उहाँहरूको योग्यता र क्षमतामै प्रश्न उठाउनु भएको हो । चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका चिकित्सकमध्ये सरकारले एक जना उपाध्यक्षमा नियुक्त गर्ने कानुनी प्रावधान छ।

‘दरखास्त दिएका सबैलाई चिन्छु। उहाँहरूको क्षमताभन्दा माथि हो उपाध्यक्ष पद’, आफू कार्यरत त्रिवि शिक्षण अस्पतालमै पत्रकार सम्मेलन गर्दै डा केसीले भन्नुभयो, ‘दरखास्त फिर्ता लिई सही व्यक्तिलाई उपाध्यक्ष बनाउन सहयोगी बन्न आग्रह गर्छु।’ केसीले आवेदन दिने सवैलाई अयोग्य घोषणा गर्दै आवेदन फिर्ता लिन आदेश दिनुभएको छ । सक्षम, अनुभवी र नाम कमाएका व्यक्ति उपाध्यक्ष नियुक्त हुनुपर्ने माग उहाँको छ । त्यस्ता व्यक्ति को होला ? सञ्चारकर्मीले यस्तो जिज्ञासामा डा केसीले भन्नुभयो, ‘आवेदन दिने अन्तिम दिन उपाध्यक्षमा आवेदन दिनेलाई नै आफ्नो योग्यताप्रति शंका छ।’ आवेदन दिने सवै अयोग्य भनेपनि आफू चाँहि सोपदको आकांक्षी नरहेको केसीले बताउनु भयो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन ०७५ कार्यान्वयनको चार महिनापछि आयोग गठन प्रक्रिया अघि बढेको छ। ऐनमा माफियामुखी प्रावधान रहेको केसीको आरोप कायमै छ । केसीले ती प्रावधान हटाउने गरी ऐन संशोधन गर्नुपर्ने माग पनि राख्नुभयो । चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक–पटक अनशन बस्नुभएका केसी चिकित्सशा बिद्येयकबिरुद्ध अनसन बसेपछि भने राजनीतिक मुद्दामा अघि बढनुभएको छ । त्यसयता केसीले कम्युनिस्ट सरकारबिरुद्ध आफूलाई केन्द्रित गर्दै आउनुभएको छ ।

आयोगका कार्यकारी प्रमुख (उपाध्यक्ष) का लागि सिफारिस समितिले ९ असारमा आवेदन माग गरेको थियो। लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा समिति गठन गरिएको छ। चिकित्सा आयोग अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ।