जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १२:३६

त्रिभुवन विमानस्थलमा २ बजेसम्म नोटाम जारी, जहाज आकासमै होल्ड


काठमाडौं, असार २७

नेपालगन्जबाट आएको यति एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएपछि विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन् । यतिको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गमा आज विहान चिप्लिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड हुन पुगेका हुन् ।

सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो। त्यसपछि पनि चिप्लिएको विमान निकाल्न केही समय लाग्ने भएपछि नोटामको समय थप गरिएको हो। चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमानस्थल बन्दपछि विभिन्न विमानहरुले आकासमा फन्को मारिरहेका छन् । फ्लाइट राडारको कभरेजले देखाए अनुसार कोलकत्ताबाट आएको बुद्धको जहाज अवतरणको लाइनमा थियो । तर विमानस्थलमा यतीको विमान चिप्लिएपछि यो विमान अवतरण गर्ने ठाउँ नभएर आकासमा फन्को मारिरहेको छ ।

दोहाबाट आएको कतार एयरलाइन्सको जहाजले पनि अहिले आकासमा फन्का मारिरहेको छ । त्यसैगरी, बैंककबाट आएको थाई एयर, ढाकाबाट आएको विमान र बंगलादेशको विमान पनि काठमाडौं आउने क्रममा होल्डमा परेका छन् ।