उदयपुर, बैशाख १८ । निर्वाचनको मिति १२ दिन बाँकी छँदा उदयपुरको लिम्चुङ्गबुङ्ग गाउँपालिकामा नेकपा माओबादीमा पहिरो गएको छ । माओबादीमा पहिरो गएसँगै एमाले मजवुद बनेको छ ।
गाउँपालिकाका हेभिवेइट मानिने माओवादीका हस्ती वडा नम्बर २ ताम्लिछाका वडाध्यक्ष भविन्द्र राई, महिला नेतृ गंगा राईसहित ठुलो संख्यामा माओवादी नेताहरु एमालेमा प्रवेश गर्नुभएको छ । यो घटनाले माओबादीभित्र हलचल मच्चिएको हो । ताम्लिछा माओबादीका लागि भोट बैंक हो । यसअघि भारी मतले एमाले उमेदवारलाई पराजित गर्नुभएका राई एमालेमा प्रवेश गरेसँगै एमालेले गाउँपालिका प्रमुख, उपप्रमुख र वडामा सिट सुरक्षित गरेका स्थानीयको आँकलन छ ।
स्थानीय एक युवाले भने, ‘भविन्द्रलाई वडामा टिकट नदिनु र उनलाई एमालेमा रोक्न नसक्नु नै माओबादीलाई दशा लाग्यो, अव कही कतैबाट माओबादीलाई जिताउन सकिदैन ।’ ५ बर्ष जनप्रतिनिधिको अनुभव बटुलिसकेका राई त्यस क्षेत्रका मात्र नभई गाउँपालिकाकै हस्ती मानिनु हुन्छ । तुलनात्मकरुपमा उहाँले आफ्नो वडामा विकास निर्माणका कामलाई अब्बल सावित गरिसक्नु भएको छ ।

पार्टीले टिकट वितरणमा नाताबाद कृपाबाद, गुटगत प्रवृति हावी हुँदै गएपछि चरम असन्तुष्ट पोख्दै आएका राई पछिल्लो समय एमालेसँग नजिक हुँदै आउनु भएको थियो । उहाँलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्र्चाज मन्जुकुमारी चौधरी, प्रदेश कमिटी सचिवालयद्धय सदस्य बेदप्रसाद पोखरेल, अम्बरबहादु रायमाझी, देवराज राई, गाउँपालिका कमिटीका अध्यक्ष भलराज राई, पालिका अध्यक्षका उमेदवार राजकुमार राई लगायतले स्वागत गर्नुभएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ताम्लिछामा निकै लोकपृय मत लिएर वडाध्यक्ष बनेका राई पुनः वडाध्यक्ष पदकै आकांक्षी हुनुहुन्थ्यो । एमालेमा प्रवेश गरेका राईले निर्वाचित भए यता निकै राम्रा कामहरु गरेका थिए । जनतासँग रिझाउने काम गर्दा गर्दै अन्तिममा आएर नाताबाद कृपाबाद र गुटगत हावी हुँदा आफुलाई पार्टीले अन्याय गरेको उहाँले बताउनु भयो ।

एमालेमा प्रवेश गराउँदै पोलिटव्युरो सदस्य चौधरीले नेकपा माओबादी सिद्धान्त र विचारले स्खलित हुँदै गएकाले एमाले प्रति जनताको आकर्षण बढ्दै गएको बताउनु भयो । चौधरीले मुलुकको विकास एमालेबाट मात्र सम्भंव भएकाले गोलबन्द हुन आग्रह पनि गर्नुभयो । उहाँले विचारविहीन अवस्थामा पुगेको नेकपा माओबादी यो पटकको निर्वाचनमा देशभरबाट बढारिने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्