बाँके, बैशाख २० । प्रहरीले भारतबाट चोरी गरी ल्याएको अवस्थामा ६२ लाख रुपैयाँ बराबरका सुनका गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ को पिमी कैशालका २८ वर्षीय अशोकबहादुर सिंह छन्।प्रहरीले सिंहलाई जिल्लाको खजुरा गाउँपालिका वडा नं.२ एल गाउँ सुबेदी चोकबाट वैशाख १८ गते राति सवा ९ बजेतिर पक्राउ गरेको एसपी अधिकारीले सेतोपाटीलाई बताए।
चोरी गरी आएको सिंह आफ्नो दाजुको घरमा जाँदै गर्दा झोला बोकेर पैदल हिँडिरहेका सिंहको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई सोधपुछ र खानतलासीका क्रममा यति ठूलो मात्रामा सुनका गरगहना फेला पार्न सफल भएको हो।सिंहलाई इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।सिंहले बोकेको झोलामा हार, मंगल सूत्र, बाला, दाना, झुम्की, रामलिला, ब्रासेलेट, कानपासा, औंठी, टप, फूली, पथ्थरका टुक्रा र माला लगाएका सुनका गरगहना बरामद भएको प्रहरिले जानकारी दिएको छ ।
प्रहरिका अनुसार सिंहसहित दुई जना नेपाली र दुई जना भारतीय नागरिक मिलेर वैशाख ४ गते भारतको बैंगलुरूस्थित सुनपसलबाट ती गरगहना चोरी भएको थियो। यसको जानकारी प्रहरिलाई इन्टरपोल, इण्डियन एम्बेसी र इण्डियन पुलिसले पहिले नै गराएका थिए ।घटनाबारे थप अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको दुबै देशका प्रहरीबाट खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्