जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १४:००

खोटाङमा पहिराले घर पुरिदा दुई नाबालकसहित तीन बेपत्ता, भोजपुरमा दुई जनाको मृत्यु


खोटाङ, असार २७

पहिरोले घर पुरिँदा खोटाङमा तीन जना बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बाघपच्याङमा दुई नाबालक छोरासहित आमा पनि बेपत्ता भएका हुन् । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान झण्डै तीन÷चार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँएको थियो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ । बेपत्ता भएका आमा र दुई जना बालकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

उता, भोजपुरमा अविरल वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको ज्यान गएको छ । पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर ज्यान गएको हो ।

घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरी निरिक्षक राजवंशीले बताउनुभयो ।