जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १६:२५

कांग्रेस परित्याग गर्दै रोशी गाउँपालिका अध्यक्षले दिए राजीनामा, एमालेका देवसागर लामालाई सहज


काठमाडौं, २३ बैशाख । स्थानीय तह निर्वाचनको मिति एक साता मात्रै बाँकी रहँदा काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले राजीनामा दिनुभएको छ । यससँगै एमालेका देवसागर लामालाई यो पटक रोशीमा सहज भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष लामाले यसपटक टिकट पाउनुभएको थिएन ।

उहाँले अचानक आज गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेस पार्टी दुवै परित्याग गर्नुभएको छ । लामाले गाउँपालिकाका सबै कर्मचारीहरु, राजीनामा दिएर बाँकी रहेका जनप्रतिनिधिहरुलाई धन्यवाद दिँदै कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै पदबाट राजीनामा दिनुभएको हो । डिबी लामा कार्यकालभर रोशी गाउँबासीबीच लोकप्रिय हुनुहुन्थ्यो ।

पार्टीले दोस्रो पटक पालिकाको अध्यक्ष पदको उम्मेदवार नबनाएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा पुनः नदोहोर्याएपछि लामाले वैशाख ११ गते मन्तव्यसहित राजीनामा घोषणा गर्नुभएको थियो । उहाँले राजीनामा उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेतिलाई बुझाउनुभएको छ । लामाको राजीनामाले रोशीमा सत्ता गठबन्धनलाई धक्का पुगेको छ ।