काठमाडौं, बैशाख २४ । ‘गठबन्धनभन्दा प्रतिगमन (एमाले) बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा’ शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले काठमाडौंमा स्थानीय तह निर्वाचनमा मत माग्ने उदेश्यका साथ आयोजना गरेको सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएको अभिव्यक्ति हो यो ।
केसीको यो भनाइले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले पाँच दलीय गठबन्धन भन्दा निकै बलियो छ भन्ने कुराको संकेत गरेको छ । सत्ता गठबन्धनमा रहेको नेताहरु केही दिन यता महानगर केन्द्रीत सभामा व्यस्त बनेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायत गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्ने सभामा व्यस्त हुनुहुन्छ ।
वर्तमान प्रधानमन्त्रीसहित तीन पूर्व प्रधानमन्त्री रहेको पाँच दलीय गठबन्धनले काठमाडौं सहितमा ६ महानगरमा वैशाख ३० गतेको लागि चुनावी तालमेल गरेका छन् र संयुक्त रुपमा मत माग्नका लागि सभा आयोजना गरिरहेका छन् ।
कमजोर उपस्थिति
पाँच मुख्य राजनीतिक शक्ति एकातिर भए पनि चुनावी सभाहरुमा जनमानसको उपस्थिति भने कमजोर देखिएको छ । देशभरमध्ये नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा बिहीबार गठबन्धनले सभाको आयोजना गरेको थियो । गठबन्धनको शक्ति प्रदर्शनको आँकलन गरिएको उक्त सभामा मानिसहरुको कमजोर उपस्थिति देखिएको भन्दै अवस्था गठबन्धनले सोचे जस्तो सहज नरहेको टिप्पणी भएको थियो ।
बिहीबारको कार्यक्रममा नै मेयरकी उम्मेदवारसमेत रहनुभएकी प्रचण्ड पुत्री रेणु दाहालले सभामा मानिसहरुको केही कम उपस्थितिलाई लिएर चिन्तित हुनु नपर्ने बारम्बार भन्नुपरेको थियो भने कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले सभामा कम उपस्थितले कांग्रेसको मत गठबन्धन भन्दा यता उति हुने गरी बुझ्न नहुने बताउनु भएको थियो ।
पाँचै दलका शीर्ष नेता सहभागी कार्यक्रममा भएको कमजोर उपस्थितिले चितवन एमाले भने हौसिएको छ। कांग्रेस नेता कार्यकर्ताको चाहान विपरित गठबन्धन भएकाले बागी उम्मेदवारी पर्दा गठबन्धन यसै पनि समस्यामा रहेको छ । शुक्रबार काठमाडौंमा पनि सत्ता गठबन्धनले कार्यक्रमको आयोजना गरेको थियो । महानगरका उम्मेदवारसहित शीर्ष नेताहरुले सम्बोधन गरेको कार्यक्रमलाई सामान्य रुपमा नै आयोजना गरिएको थियो ।

पाँच दलका शीर्ष नेता सहभागी सभामा उपस्थित कम भएको चर्चा चलिरहँदा एमाले अध्यक्ष केपी ओली पनि जिल्ला दौडामा हुनुहुन्छ । ओली पुुग्ने सभामा संख्यात्मक रुपमा गठबन्धन भन्दा निकै धेरैको उपस्थिति हुने गरेको छ ।
शुक्रवार रौतहटको सभामा अध्यक्ष ओलीले स्वार्थमा लिप्त बनेको गठबन्धन सरकारले देशलाई बर्बाद पारेको बताउनु भयो । ‘सरकार कसरी गठबन्धन जोगाउने भन्नेमा लागिपरेको छ, दस महिना हामीले हेर्यौं । अर्थतन्त्र डमाडोल पारे । योभन्दा बर्बाद के हुन सक्छ ?’ ओलीले भन्नुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पुगेर ओलीले नेपालमाथि सिस्नुपानी हान्नुभएको छ ।
कमजोर चुनाव एजेन्डा, व्यक्तिगत कुण्ठा पोख्दै नेता
स्थानीय तहमा दल तथा उम्मेदवारले गर्ने काम र भावी योजनाबारे मतदातालाई जानकारी दिन गरिएका चुनावी सभामा यस्ता विषयले कमै स्थान पाउने गरेको छ । संघीय वा प्रदेश निर्वाचनको झल्को दिने गरि सभाहरु आयोजना भइरहेका छन् ।
उक्त स्थानीय तहमा उम्मेदवारले गर्ने काम भन्दा बढी राष्ट्रिय मुद्दा र नेताहरुको व्यक्तिगत कुण्ठामा मात्र दलहरु बढी केन्द्रित भएका छन् । जनजीविकाका सवालमा भन्दा राजनीतिक दलहरु एक अर्कालाई खुइलाउन मात्र बढी केन्द्रीत भएका देख्न सकिन्छन । गठबन्धनका दलहरुले एमाले अध्यक्ष ओलीको चर्को बिरोध गरिरहँदा ओली भने समृद्धिका योजनासहित गठबन्धनको बदमासी भण्डाफोर गरिरहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्