जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार १४:३३

प्रचण्डको धम्कीबाट देउवाको होस-हवास उडेको अध्यक्ष ओलीको टिप्पणी


काठमाडौं, बैशाख २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छोरीलाई नजिताए गठबन्धन टुट्ने धम्की दिएकै भोलिपल्ट शेरबहादुर देउवाको बोली फेरिएको बताउनुभएको छ । पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा आईतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दाहालको धम्कीकै भोलिपल्ट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले काठमाडौंमा डराएको अभिव्यक्ति दिएको बताउनुभयो ।

‘रेणु दाहालको भोट माग्न देउवाजी भरतपुर जानुभो, भोट मागेर फर्किनुभो, काठमाडौं फर्किएर कतिसम्म भने प्रचण्डले रेणुलाई उठाएकै होइन, मैले नै उठाएको बोल्नुभो । चितवनमा धम्कीबाट कति डराउनुभएछ भन्ने भोलिपल्ट थुरथुर हुँदै दिएको वक्तव्यले देखाउँदैन ?’ ओलीले भन्नुभयो । चितवनमा आयोजित गठबन्धनको आमसभामा प्रचण्डले पुत्री रेणुलाई नजिताए गठबन्धन टुट्ने, जिताए आफू उत्साही भएर अहिलेको गठबन्धनलाई १५/२० वर्षसम्म निरन्तरता दिने अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष ओलीले मतदातालाई धम्क्याउने, तर्साउने अभिव्यक्ति दिएर खुलेआम आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग चुप लागेर गठबन्धनको ढाल बनिरहेको स्पष्ट पार्नुभयो ।

‘उहाँले चितवनबासीलाई धम्क्याउनुभो । गठबन्धनका हर्ताकर्ता मै हुँ भन्ने नेताले जनतालाई ललकारेर, धम्क्याएर, होइन भने देश दुर्घटनामा जान्छ भन्दै तर्साएर । यसरी तर्साएर भोट माग्न पाईन्छ ?’ ओलीले भन्नुभयो,‘निर्वाचनका बेला त्रासको वाताबरण सिर्जना गर्नु, धम्क्याउनु, छोरीलाई जिताउँदैनौ भने देश दुर्घटनामा जान्छ भन्नु आचारसंहिता विपरित हो कि होइन ?’

अहिलेको पाँच दलीय गठबन्धनलाई अपराधिक गठबन्धनको संज्ञा दिँदै उहाँले गठबन्धनका नेतालाई आचासंहिता उल्लंघनमा छुट दिएर तलका कार्यकर्ताहरुलाई चेतावनी दिने दोहोरो मापदण्ड त्यागेर गठबन्धनका नेताहरुलाई कारवाही गर्न निर्वाचन आयोगसमक्ष माग गर्नुभयो ।

‘मेरी छोरीलाई यदी खुरुखुरु भोट हालेर जिताउने हो भने म उत्साहित हुन्छु । त्यस्तो भयो भने गठबन्धन १५/२० वर्ष टिकाउन सक्छु । त्यो मेरो प्रतिबद्धता छ । छोरीलाई भोट दिनुपर्ने कुरा के हो भने उनलाई उत्साहित बनाउन । यो वास्तबमा अपराधिक गठबन्धन हो । भोट दिएन भने चाखौला पखौंला भन्ने । यो अत्यन्त हानिकारक कुरा हो । आचारसंहिता विपरितको कुरा हो, अराजनीतिक कुरा हो,’ उहाँले भन्नुभयो ।

निर्वाचन आयोगले चुनावको प्रचारमा एउटा दलले अर्को दलको चुनाव चिन्ह् प्रयोग गर्न नपाउने, एउटा दलले अर्को दलको प्रचार गर्न नपाउने आचारसंहिता जारी गरे पनि गठबन्धनका नेताहरुको रक्षाकवच बनेर उनीहरुका तलका कार्यकर्ताहरुलाई मात्र धम्क्याइरहेको उदाहरणसमेत दिनुभयो ।

‘अहिले आयोगले फेरि भनेको छ, आफ्नो चिन्ह्बाहेक अरुको प्रयोग गर्न पाउँदैन । देशभरी त गठबन्धनले एउटाको चिन्ह अर्काले प्रयोग गरिरहेकै छ । एउटा दलले अर्को दलको प्रचार गर्न पाउँदैन भन्ने आचारसंहिता निर्वाचन आयोगले कार्यान्वयन गरोस् । शेरबहादुरजीले अर्को दलको भोट माग्न हुने ? तलका कार्यकर्ताहरुले नहुने ? नागरिक स्वतन्त्रता नेतालाई एउटा, कार्यकर्तालाई अर्को, केन्द्रकालाई एउटा, जिल्लाकालाई अर्को हुन्छ ?’ ओलीले भन्नुभयो, ‘राजनीतिक दलभित्रको अनुशासनको विषय हुनसक्छ । तर निर्वाचन आयोग ढाल भनेर कार्यकर्ताहरुलाई कारवाही गरिन्छ भन्ने विषय के हो ? प्रचण्डजीले सिर्जनाजीको श्रीमती भन्न ठिक होइन भन्नुहुन्छ ? श्रीमती नभनौंला, उहाँको भोट त माग्नुभो नि त प्रचण्डजीले, अरुजीहरुले । चित्रबहादुरजी पनि लौरो टेकेर आइपुग्नुभएछ । अब उहाँहरुलाई के हुन्छ कारवाही ?’

उहाँले आयोगलाई गठबन्धनका नेताहरुलाई कारवाही गरेर निष्पक्षता कायम गर्न चुनौतिसमेत दिनुभयो । ‘उहाँहरुप्रति चाँही निर्वाच्न आयोग पट्टी बाँधेर, ढाल बनेर बस्ने ? प्रदेशप्रदेशमा संयुक्त आमसभा भइरहेको छ, पालिकापालिकामा गरेका छन, के हेरेको छ ? चेतावनी दिएर, पत्र लेखेर कारवाही गर्नुपर्यो नि ।’ ज्योतिषीका अनुसार वैशाख ३० गठबन्धनलाई ठूलो खड्गो
अध्यक्ष ओलीले पाँच दलीय सत्तारुढ गठबन्धनलाई ३० वैशाखको स्थानीय निर्वाचन ठूलो खड्गोका रुपमा प्रकट हुने ज्योतिषीहरुले चर्चा गर्ने गरेको पनि बताउनुभयो ।

‘एउटा ग्रहदशा हेर्ने, अर्को राजनीतिक दशा हेर्ने ज्योतिषी हुन्छन् । अहिले दुवै प्रकारका ज्योतिषीहरुले गठबन्धन महासंकटमा पर्दैछ भन्छन् । होइन भने प्रधानमन्त्रीजीले ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषलाई बोलाएर सोध्दा हुन्छ । गठबन्धन रहन्छ रहँदैन भन्ने मेरो कुरा छैन । तर ज्योतिषीहरुको भनाईअनुसार उहाँहरुको सबभन्दा ठूलो खड्गो वैशाख ३० नै हो । कस्तो दिन छानेर उहाँहरुले राख्नुभएछ, वैशाख ३० मा त उहाँहरुलाई हुनसम्म हुन्छ क्या, ढाडै भाँचिनेगरी । तपाईंहरुलाई भ्रम नरहोस्, म ज्योतिषी होइन ।’ ओलीले भन्नुभयो ।

ओलीले एमालेले चाहाँदा अहिलेको गठबन्धन एक सातामा ढल्ने बताउनुभयो । ‘हामीले चाह्यौ भने एक हप्तामा ढल्छ ढल्छ । केही भन्नै परेन नि । बिरालो किन्नुपर्दैन भन्ने तपाईंहरुलाई थाहै छ, जसले ठूलो कचौरामा दुधभात दिन्छ, उसैकहाँ जान्छ । त्यसको कुनै सवालजवाफ छ ? हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा ठूलो छ ।’ उहाँले भन्नुभयो ।