जनता टाइम्स

२५ बैशाख २०७९, आईतवार १९:१६

भक्तपुरमा एमालेको उदघोष : प्रतिष्पर्धा हैन, जीतको औपचारिकताका लागि मात्र निर्वाचन


भक्तपुर, २५ बैशाख । नेकपा एमालेका नेता तथा कार्यकर्ताले आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको सूर्यविनायकमा एमालेको जीत सुनिश्चित भइसकेको उद्घोष गर्दै औपचारिक घोषणा हुन मात्रै पर्खनु परेको दावी गरेका छन् । नेकपा एमाले सूर्यविनायक नगरकमिटीको आयोजनामा आज वडा नं. ९ मा भएको घरदैलो कार्यक्रममा यस्तो दावी गरिएको हो ।

पलासेबाट शुरु भएको कार्यक्रम वडाका मूख्य–मूख्य चोकहरुमा सयौंको संख्यामा नेता कार्यकर्ताहरुबाट र्याली निकालिएको थियो । विगतमा एमालेले गरेको विकास र समृद्धि नै वर्तमानमा एमालेको जीतको आधार भएकाले सबै पदमा एमालेको जीतका लागि कुनै प्रतिष्पर्धा नै नभएको सहभागिहरुले दावी गरेका हुन् ।

नगरपालिका क्षेत्रमा प्रतिष्पर्धाको लागि एमाले चुनावमा होमिएको नभई जीतको औपचारिक घोषणा हुनको लागि मात्र निर्वाचनमा होमिएको एमालेले जनाएको छ । कार्यक्रममा एमालेले गरेका विकास निर्माणका कार्यहरुलाई नाराको रुपमा प्रस्तुत गर्दै अबको नेतृत्व एमालेले गर्दै आफ्नो क्षेत्रलाई नमुना बनाउने नेताहरुले प्रतिवद्धता जनाउनुभयो ।

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद शशीजंग थापा, एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका बाशुदेव थापा, उपप्रमुखका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार उपेन्द्रराज केसी, वडा सदस्यका उम्मेदवारहरु गंगा खड्का, अणु बयलकोटी, विनय महत, शेरकाजी सुवालसहित एमालेका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।