जनता टाइम्स

२८ असार २०७६, शनिबार ०६:२८

बाढी-पहिरोको बितण्डा : १९ जनाको मृत्यु, आठ बेपत्ता


काठमाडौं । अविरल वर्षापछिको बाढी र पहिरोमा परी प्रदेश १, २ र ३ का विभिन्न जिल्लामा गरी १९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा चार, खोटाङमा तीन, भोजपुर र काभ्रेमा दुई–दुई, इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर र धादिङमा एक–एकजनाको मृत्यु भएको हो ।

नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार बाढीपहिरोमा परी आठ जना बेपत्ता भएका छन्। यस्तै बाढीपहिरोमा परी सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन्। पहिरोले राजमार्ग अवरुद्ध हुँदा राजधानीसहित विभिन्न जिल्लामा यातायात अवरुद्ध भएको छ। तराई विभिन्न जिल्ला र राजधानीका केही ठाउँ डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ का एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी रेखा राई र उनका दुई छोरा रोमन र रोहनको मृत्यु भएको छ। घर पुरिँदा विष्णुकुमार राई घाइते भएका छन्। खोलाले बगाएर इलामको चुलाचुली–१ मा अञ्चल लावतीको मृत्यु भएको छ।

भोजपुरको ट्याम्केमयुङ गाउँपालिका, लोकखर्कका जनक विकको शौचालय गएका बेला पहिरोले पुरिएर मृत्यु भएको छ। यस्तै रामप्रसाद राई गाउँपालिका–७ बासीखोरामा घरको छानो खसेर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ। ओखलढुंगाको चिसंखुगढी गाउँपालिका रातमाटेमा ९५ वर्षीया पासाङ फुरी शेर्पाको लसुने खोलाले बगाएर निधन भएको छ। झापा दमक–१० मा भालुखोलाले बगाएर ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्साको पर्सागढीमा बाढीले बगाएर ल्याएको काठ छोप्न भनेर सिङ्याही खोलामा पसेका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघराज पटेलका १२ वर्षीय छोरा निखल छन्।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। तीनजनाको टहरोले किचेर र एकजनाको पहिरोमा पुरिएर निधन भएको हो। काठमाडौं मूलपानीस्थित बाबाचोकमा टहरालाई पर्खालले थिच्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। घटनामा बारा घर भई मूलपानी बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, १० वर्षीय छोरा कुन्दन यादव र शर्मिलाकी देवरानी ३० वर्षीया निलु यादवको मृत्यु भएको हो। प्रहरीले एक्जाभेटर लगाएर टहरा पन्छाउँदा तीन जनाको शव भेटिएको थियो। यस्तै घर भत्किँदा ललितपुरको बागमती गाउँपालिकाको बगुवामा १३ वर्षका सरोज जिम्बाको मृत्यु भएको छ।

काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दंगालकी पत्नी ५५ वर्षीया गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताउनु भयो। घरमाथिबाट आएको पहिरोले पुरिँदा घाइते भएका ३ जनाको उपचार भइरहेको छ। मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा स्थानीय शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमाया बलामीको मृत्यु भएको छ। खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।

प्रहरीका अनुसार रामेछाप नगरपालिका–५ मा पहिरोले पुरिएर पदमकुमारी सुनुवारको मृत्यु भएको छ। धादिङको गजुरी गाउँपालिका–४ मा घर भत्किएर अस्मिता तामाङको मृत्यु भएको छ भने सिन्धुलीको फिक्कल गाउँपालिका–१ मा पहिरोले गोठ भत्किँदा हेमकुमारी सुनुवारको मृत्यु भएको छ।

सुनसरी, पाँचथर र झापामा एकएक जना बेपत्ता भएका छन्। सुनसरीको इटहरी–५ स्थित सुकुमारी खोलाले बगाएर दुई दिनदेखि बेपत्ता युवा अझै भेटिएका छैनन्। सोही स्थानमा ग्रिल पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो। पाँचथरको मिक्लाजुङ–४ का दियाल राई पहिरोमा परी बेपत्ता भएका छन्। मेचीनगर– १४ का ५४ वर्षीय सुफल हस्दा भद्रपुरस्थित हडिया खोला तर्ने क्रममा बेपत्ता भएका छन्।

यस्तै महोत्तरीको बलवा नगरपालिका—२ का ७० वर्षीय हनिफ बैठा, रौतहटको ईशनाथ नगरपालिका ३ का ३५ वर्षीय रामकुमार पटेल र रौतहटको गढीमाई नगरपालिका–६ सिंहरवनकी ५० वर्षीया आनन्दीदेवी राय बेपत्ता छन्। उनीहरूलाई स्थानीय खोलाले बगाएको हो।

प्रहरीका अनुसार राजधानीमा विष्णुमती खोलाले बल्खुमा एक जना बगाएको छ। उनी अझै फेला परेका छैनन्। मकवानपुरको कैलाश गाउँपालिका–५ कालीखोलामा आएको पहिरोमा परी तारामाया पाख्रिन बेपत्ता भएकी छिन्। ललितपुरकै भट्टेडाँडामा गुडिरहेको गाडीमाथि ढुंगाले थिच्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन्। घले चढेको बा ४ ख ८६४ नम्बरको गाडीमाथि ढुंगा बजारिएको थियो।