जनता टाइम्स

२८ असार २०७६, शनिबार ०७:४५

सप्तकोशीमा पानीको वहाव उच्च, सुनसरी-सप्तरीका नदी तटीय क्षेत्रमा सतर्क रहन निर्देशन


काठमाडौं, असार २८ । केही दिनदेखिको भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान गरिएको मापनमा सप्तकोशीले सतर्कता तहलाई पार गरेको छ।

नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज बिहान ६ बजेदेखि बहावले सतर्कता तह पार गरेकाले सुनसरी, सप्तरी लगायत तटीय क्षेत्रमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

‘जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकीसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ। आज पनि मुलुकका केही भागमा भारी वर्षा हुने अनुमान गरिएको छ।

देशको मध्य र पूर्वी भागहरूमा वर्षाको सम्भावना धेरै र पश्चिम र सुदूरपश्चिममा आंशिक वर्षा हुने अनुमान गरिएको छ। केही दिनयता परेको अबिरल बर्षापछिको बाढी पहिरोले मुलुकभर बितण्डा मच्चाइ रहेको छ ।