जनता टाइम्स

२८ असार २०७६, शनिबार ०९:२८

नेपालसामु जितका लागि मलेसियाद्वारा १२९ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, असार २८

मलेसियाले पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपाल सामु जितका लागि १२९ रनको चुनौति प्रस्तुत गरेको छ । कोलालाम्पुरस्थित किनरारा ओभलमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।

मलेसियाका लागि विरनदिप सिंहले सर्वाधिक ५७ रन बनाए । उनले ४७ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी घरेलु टोलीका लागि कप्तान अहमद फैजले ३९ बलमा ४५ रन बनाउनु बाहेक अन्यले खासै उल्लेख्य प्रर्दशन गर्न सकेनन् । नेपालका करन केसीले सर्वाधिक ३ विकेट लिए । उनले अन्तिम ओभरमा तीन रन दिएर तीन विकेट लिएका थिए । यस्तै, बसन्त रेग्मी र सन्दिप लामिछाने दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।